१८ पुस, नेपालगनज । खुकुरी प्रहार गरेको आरोप जिल्ला प्रहरी कार्यालय बाँकेले चार जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ।
नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ४ गणेशपुरमा आइतबार दिउँसो १ बजेतिर धारिलो हतियार प्रहारबाट नेपालगन्ज १२ निवासी अनुराग शाह, जानकी गाउँपालिका वडा नम्बर ३ निवासी उज्वल शाह र वडा नम्बर ४ का सुभम शाह घाइते भएका थिए।
आक्रमणबाट घाइते भएका तीनै जनालाई नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल, नेपालगन्जमा प्रारम्भिक उपचार पश्चात् थप उपचारका लागि भारतको लखनउ रिफर गरिएको छ। उनीहरूको लखनउस्थित एक अस्पतालमा उपचार भइरहेको छ।
उक्त घटनामा संलग्न रहेको आरोपमा प्रहरीले पक्राउ गरेका विनय भण्डारी, नारायण डाँगी, प्रकाश रसाईली, तासे भन्ने प्रकाश थापालाई सोमबार बिहान सार्वजनिक गरिएको हो। घटना लगत्तै जिल्ला प्रहरी कार्यालयबाट एसपी सन्तोषसिंह राठौरको कमाण्डमा खटिएको प्रहरी टोलीले घाइतेलाई उपचारको लागि नेपालगन्ज मेडिकल कलेज, शिक्षण अस्पताल नेपालगन्जमा पठाएर संलग्न व्यक्तिको खोजी कार्य सुरु गरेको थियो।
प्रहरीले डुडुवा गाउँपालिका वडा नम्बर ३ स्थित बनकट्टीबाट रामपुरुवा जाने कच्ची बाटोको दक्षिणतर्फ गहुँ लगाएको खेतमा उक्त घटनामा प्रयोग भएको युपी ३२ इयु ८६१६ नम्बरको खैरो रंगको कार फेला पारेको थियो।
त्यसपछि घटनामा संलग्न नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १८ बस्ने वर्ष २९ वर्षीय भण्डारी, नेपालगन्ज ६ का ३१ वर्षिय प्रकाश, राप्ती सोनारी गाउँपालिका वडा नम्बर २ निवासी ३१ वर्षका नारायण डाँगी र बैजनाथ गाउँपालिका वडा नम्बर ५ का २९ वर्षिय प्रकाश रसाईली भन्ने तुल्सीराम सुनारलाई डुडुवा गाउँपालिका वडा नम्बर २ दासपुरुवा भन्ने स्थानबाट नियन्त्रणमा लिइएको जिल्ला प्रहरी प्रवक्ता एवम् डिएसपी रामप्रसाद घर्ती मगरले जानकारी दिए।
उक्त घटनामा प्रयोग भएका २ थान खुकुरी नेपालगन्ज ५ फुल्टेक्रा स्थित सडक बाटो नजिक बुट्यान झाँडीमा फेला पारी बरामद गरिएको उनले बताए। उक्त घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
नेपालगन्जमा खुकुरी प्रहार, तीन जना घाईते
१८ पुष २०७९, सोमबार १७:३१ प्रकाशित