बाँकेका तिन वटै निर्वाचन क्षेत्रमा ‘हेभिवेट’ उम्मेदवार
  • काँचुली खबर

असोज २३, कोहलपुर । आगामी मंसिर ४ गते हुन लागेको प्रतिनिधी सभा र प्रदेश सभा निर्वाचनका लागि बाँकेका ३ वटा प्रतिनिधी सभा र ६ प्रदेश सभा निर्वाचनका लागि आइतबार मनोनयन दर्ता गरिएको छ । प्रतिनिधि सभा अन्तर्गत बाँकेका तिन वटै क्षेत्रमा हेभिवेट उम्मेदवारले मनोनयन दर्ता गराएका छन । उम्मेदवारी दर्ता गराउनेमा वर्तमान सरकारका दुई मन्त्री सहित नेपाली काँग्रेसका सहमहामन्त्री तथा राप्रपाका महामन्त्री लगाएत रहेका छन ।

बाँकेको प्रतिनिधी सभा क्षेत्र नम्बर १ मा माओवादी केन्द्रका तर्फबाट युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराज (अथक) ले उम्मेदवारी दर्ता गराएका छन । त्यसैगरी नेकपा एमालेका तर्फबाट सुर्यप्रसाद ढकाल, नेपाल मजदुर किसान पार्टीबाट नविन कुमार शाही, जनता समाजवादी पार्टीबाट रामकुमार यादव, नेपाली कांग्रेस विपीका कुन्ति शर्मा र नागरिक उन्मुक्ती पार्टीका सुरेश कुमार चौधरीले लगायतले उम्मेदवारी दर्ता गराएका छन् ।

प्रदेशसभा १ (क) मा नेकपा माओवादी केन्द्रकी कृष्णा केसी (नमुना), राप्रपाका नरेन्द्रकुमार पौडेल, जनता समाजवादी पार्टीका तर्फबाट अमरबहादुर खड्का, नेपाल मजदुर किसान पार्टीका जयप्रकाश चौधरी तथा प्रदेश सभा १ (ख) मा नेपाली कांग्रेसका फुलाराम थारु, नेकपा एमालेका दुर्गाप्रसाद चौधरी, जसपाबाट लालबहादुर शाह, नेपाल मजदुर किसान पार्टीका हिराबहादुर शाही, राष्ट्रिय जनमुक्ती पार्टीका गगनबहादुर थापा लगायतले उम्मेदवारी दर्ता गराएका छन । उक्त क्षेत्रमा सत्तारुढ दल नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकिकृत समाजवादी र राष्ट्रिय जनमोर्चाबीच गठबन्धन बनेको छ । यस्तै नेकपा एमाले र राप्रपाबीच चुनावी तालमेल रहेको छ ।

यस्तै प्रतिनिधी सभा क्षेत्र नम्बर २ मा जसपाको तर्फबाट भौतिक पुर्वाधार तथा यातायात मन्त्री मोहम्मद ईश्तियाक राईले उम्मेदवारी दर्ता गराएका छन । उनीसँगै राप्रपाका महामन्त्री एवं नेपालगन्ज उपमहानगरपालिकाका निर्वतमान मेयर डा. धवलसम्शेर राणा, नेपाली कांग्रेसका नेता सुदिप नरसिंह राणा, स्वतन्त्र उम्मेदवार दिवाकर खनाल, राष्ट्रिय स्वतन्त्र पार्टीका विनोद अग्रहरी लगायतले उम्मेदवारी दर्ता गराएका छन ।

आसन्न निर्वाचनका लागि यहाँ नेपाली कांग्रेस सहित नेकपा माओवादी केन्द्र, नेकपा एकिकृत समाजवादी र राष्ट्रिय जनमोर्चाको गठबन्धन बनेको छ । सत्तारुढ दलसँग गठबन्धन तोडेपछि जसपाका नेता राई एक्लै चुनाव लड्न लागेका हुन् । यस्तै राप्रपाका महामन्त्री डा। राणा नेकपा एमालेको समर्थनमा चुनाव लड्न लागेका छन् ।

यसैगरी प्रदेश सभा २(क) मा नेपाली कांग्रेसका राजकुमार बर्मा, नेकपा एमालेका विजय यादव, जनता समाजवादी पार्टीका तर्फबाट भण्डारीलाल यादव, स्वतन्त्र उम्मेदवार राजकुमार रौनियार लगायतले उम्मेदवारी दर्ता गराएका छन् । प्रदेश सभा २ (ख) मा नेपाली कांग्रेसका तर्फबाट लुम्बिनी प्रदेशका वन तथा भू-संरक्षण मन्त्री सुरेन्द्रबहादुर हमाल, नेकपा एमालेका निरक गुरुङ, जनता समाजवादी पार्टीबाट आदेश अग्रवाल, नेकपा माओवादी केन्द्रका अकलबहादुर बम, स्वतन्त्र उम्मेदवार डा। विनोद कर्ण लगायतले उम्मेदवारी दर्ता गराएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

यसैगरी प्रतिनिधी सभा क्षेत्र नम्बर ३ मा नेपाली कांग्रेसका सह-महामन्त्री किशोरसिंह राठौंरले उम्मेदवारी दर्ता गराएका छन । त्यसैगरी नेकपा एमालेका किस्मतकुमार कक्षपति, नागरिक उन्मुक्ती पार्टीका तर्फबाट रविन्द्रमान श्रेष्ठ, जसपाका नोयन्द्र धिताल लगायतले उम्मेदवारी दर्ता गराएका छन् ।

प्रदेश सभा ३ (क) मा नेकपा माओवादी केन्द्रका ईन्द्रप्रसाद खरेल, नेकपा एमालेका रत्न खत्री, नागरिक उन्मुक्ती पार्टीबाट चन्तराम थारु, जसपाबाट गयासुद्धिन खान, स्वतन्त्र उम्मेदवार दलबहादुर सुनार लगायतले उम्मेदवारी दर्ता गराएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। प्रदेश सभा ३ (ख) बाट नेपाली कांग्रेसका बादशाह कुर्मी, नेकपा एमालेका भिमबहादुर ओली, जसपाका विजयकुमार पाठक, नागरिक उन्मुक्ती पार्टीबाट जाकिर हुसेन लगायतले उम्मेदवारी दर्ता गराएका छन् । उक्त क्षेत्रमा पनि नेकपा एमाले र राप्रपाबीच तालमेल भएको छ, भने सत्तारुढ नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकिकृत समाजवादी र राष्ट्रिय जनमोर्चाबीच गठबन्धन बनेको छ ।

  • २४ आश्विन २०७९, सोमबार ००:१३ प्रकाशित
  • Nabintech