तपाईँहरुले नेटफ्लिक्समा कोलम्बियाका कुख्यात लागुऔषध कारोबारी पाब्लो एस्कोबारको जीवनमा आधारित शृङ्खला ‘नार्कोस’ हेर्नु भएको होला । पाब्लोको सम्पत्तिका बारेमा भनिन्छ कि उनका मान्छेलाई नोटका गड्डी बाँध्न हप्तामा एक हजार डलरको रबर ब्याण्डको आवश्यकता पर्दथ्यो ।
पत्याउनै गाह्रो छ है । पैसा बाँध्न एक हप्तामै एक लाखको रबर । कोलम्बियालाई त्यसै जादूयी यथार्थको देश भनिएको होइन । महान लेखक ग्याब्रियल गार्सिया मार्खेज भन्दथे कि दक्षिण अमेरिकी देशको यथार्थ नै यस्तो हुन्छ कि बाँकी विश्वका लागि त्यो जादु जस्तो देखिन्छ ।
लागुऔषध माफिया पाब्लो एस्कोबारका लागि फुटबल कुनै जादुभन्दा कम थिएन । आज विश्व फुटबलमा कोलम्बियाको जुन हैसियत छ त्यसको पछाडि पाब्लोको पैसाको ठूलो भूमिका छ । फुटबलप्रति उनको चाह यति धेरै थियो कि उनको बोलावटमा दिग्गज खेलाडी डिएगो म्याराडोना जेलमै फुटबल खेल्न पुगेका थिए ।
गरिबीको पीडा भुलाउन फुटबलको सहारा
पाब्लो एस्कोबारको जन्म सन् १९४९मा एक किसान परिवारमा भएको थियो । उनका बुवा किसान थिए भने आमा विद्यालयकी शिक्षिका । कोलम्बियाको दोस्रो ठूलो सहर मेडेलिनमा पाब्लोको बाल्यकाल गरिबी र अभावमै बित्यो । जुत्ता नभएका कारण नै उनलाई विद्यालयबाट फर्काइन्थ्यो । आफ्नो राजनीति विज्ञानको अध्ययन पैसा नभएकै कारण उनले बीचैमा छाडिदिए । कोलम्बियाका दरिद्रता तथा गरिबीबाट बच्न फुटबल केही समयको लागि सहारा बनेको थियो भनिन्छ । फुटबलप्रति पाब्लोको रुची बढ्नुमा पनि यसैको नतिजा थियो ।
कुनै पनि हालतमा पाब्लो गरिबीबाट मुक्ति चाहन्थे । त्यसैले उनी कार चोरी गर्न थाले । त्यसपछि उनले प्रतिबन्धित चुरोट र चिठ्ठा बेच्न थाले । उनको आपराधिक क्रियाकलाप यतिमै सीमित भएन । उनले मेडेलिनका एक व्यवसायीको अपहरण गरे र एक लाख डलर फिरौती असुले । यहीँबाट लागुऔषध कारोबारमा प्रवेश भयो । शहरका एक जना ठूलो माफियासँग उनले कोकिनको डिल गरे । भेटका क्रममा पाब्लोले ती माफियाको हत्या गरे । त्यसपछि कोलम्बियाको लागुऔषध कारोबार पाब्लाको इशारामै नाच्न थाल्यो । मेडेलिन कार्टेललाई उनले विश्वकै सबैभन्दा सफल आपराधिक संगठन बनाए । सत्तरीको दशक पाब्लोको थियो भनिन्छ । उनलाई किङ अफ् कोकिनले चिनिन थालिएको थियो ।
पाब्लोका भाइ रोबर्तो एस्कोबारको पुस्तक ‘द अकाउन्टेन्स स्टोरी’ का अनुसार मेडेलिन कार्टेलले एकै दिनमा १५ टन कोकिनको तस्करी गर्दथ्यो । यसबाट आउने पैसाको थन्को लगाउन उनीहरुलाई निकै कठिन हुन्थ्यो । एस्कोबारका मान्छे जमिनमा खाल्डो खनेर पैसा राख्थे । ‘द अकाउन्टेन्स स्टोरी’ का अनुसार कोठामा राखिएको नोटका गड्डीमध्ये १० प्रतिशत त मुसाले नै काट्थ्यो ।
विश्वकै सातौँ धनी
कोलम्बियाका कुख्यात लागुऔषध कारोबारी पाब्लोका लागि फुटबल गरिबी भुलाउने माध्यम मात्रै थिएन । फुटबलप्रति उनको लगाव पछिसम्म पनि कायमै थियो । इएसपीएनका लागि बनेको डक्युमेन्ट्री ‘द टु एस्कोबार्स’ मा उनका आफन्त भन्छन् कि पाब्लो एक राइट फुटर फुटबलर थिए । पैसा पाएसँगै सबैभन्दा पहिले उनले फुटबल सुज किनेका थिए ।
अमेरिकाको फ्लोरिडा तथा क्यालिफोर्निया जस्ता राज्यमा पनि पाब्लोको लागुऔषध तस्करी यति धेरै फैलिइसकेको थियो कि सन् १९८९ मा फोर्ब्स पत्रिकाले उनलाई विश्वकै सातौँ धनी व्यक्तिका रुपमा घोषणा गरेको थियो । कोलम्बियामा चलेको गृह युद्धले उनलाई यस्तो साम्राज्य खडा गर्न सहयोग गर्यो कि उनी सरकारभन्दा पनि बलिया भए ।
भ्रष्टाचारले ब्याप्त तत्कालीन कोलम्बियाका कारण पाब्लोलाई काम गर्न सहज भयो । पाब्लोको एउटा शुत्र थियो – प्लाटा ओ प्लोमो अर्थात पैसा लेउ वा गोली खाउ । हवाई जहाजका पाइलटलाई मोटो रकम दिएर पाब्लोले लागुऔषध कारोबारको साम्राज्य खडा गरेका थिए । यो कुरामा कति सत्यता छ थाहा छैन तरर भनिन्छ एक पटक जाडोबाट बच्न पाब्लोले १३ करोड रुपैयाँको नोटको गड्डीमा आगो लगाएका थिए ।
कालो धनलाई सेतो बनाउने माध्यम फुटबल
पाब्लो एस्कोबारको कोलम्बियामा रोबिनहुडको जस्तो छवि बनिसकेको थियो । आज पनि कोलम्बियामा सबैभन्दा बढी पाब्लोकै स्टिकर बिक्ने गर्छ । पाब्लोले गरिब र दिनदुखीलाई सहयोग गर्ने व्यक्तिका रुपमा छवि बनाइसकेका थिए । भलै उनको पैसा कालो धन र आपराधिक क्रियाकलापबाट आएको थियो, तल्लो तप्काका मान्छेका बीच उनी लोकप्रिय थिए । उनले विभिन्न आवासीय योजना बनाए । चर्च बनाए । तर उनलाई सबैभन्दा मन पर्ने काम फुटबलका लागि सहयोग गर्ने नै थियो । मेडेलिनको सुकुम्बासी बस्तीमा उनलै सयौँ फुटबल मैदान बनाए ।
गरिब बालकहरुलाई उनले फुटबल किट उपलब्ध गराए । पाब्लोले आयोेजना गरेको स्लम टुर्नामेन्ट्सले कोलम्बियाको फुटबलको स्वरुप नै परिवर्तन भयो । एलेक्सिस गार्सिया, सेरेना, रेने हिगुइताजस्ता अन्तर्राष्ट्रिय खेलाडी यीनै सुकुम्बासी बस्तीबाटै उदाएका थिए ।
पाब्लोका भाइ रोबर्तो एस्कोबारका अनुसार फुटबलमा लगानी मनी लन्डरिङ गर्ने राम्रो उपाय थियो । पाब्लो आपराधिक क्रियाकलापबाट आएको पैसाले परोपकारी काम त गर्दै थिए । तर उनलाई अकूत पैसा व्यवस्थापनमा निकै समस्या थियो । उनले विभिन्न फुटबल क्लबहरुमा लगानी गर्न थाले । सबैभन्दा पहिले उनले एटलिटिको नेसनलमा लगानी गरे । सन् १९८७ देखि ९० सम्म एटलिटिकोका म्यानेजर रहेका मातुराना एउटा अन्तर्वार्तामा भन्छन्, ‘क्लबसँग पैसा थिएन । कोलम्बियाका खेलाडीलाई पैसा दिन मुश्किल थियो । तर लागुऔषध कारोबारबाट आएको पैसाले हामी विदेशी खेलाडी अनुबन्ध गर्न सक्थ्यौँ । मानिसहरु यसको पछाडि एस्कोबारको हात छ भन्ने गर्थे । तर कसैले प्रमाणित गर्न सकेनन् ।’
पाब्लाले नेसनलको प्रतिद्वन्द्वी क्लब डीआईएममा पनि ठूलो लगानी गरे । यसको असर पाब्लो एस्कोबारका प्रतिस्पर्धी रोड्रिग्जजस्ता माफियामा पनि परेको देखियो । उनीहरुले पनि कोलम्बियाली फुटबलमा लगानी गर्न थाले । यसरी कोलम्बियामा नार्को फुटबलको सुरुवात भयो । यसलाई नार्को फुटबल यस कारण भनिन्छ कि यसमा नारकोटिक्स पदार्थको तस्करीबाट आएको पैसाको लगानी थियो ।
तर लागुऔषध कारोबारबाट आएको पैसाको लगानीले कोलम्बियाली फुटबलको माहोल बिगार्दै आएको थियो । फुटबलमा हिंसा भित्रियो । गलत निर्णय तथा दोस्रो टिमबाट पैसा लिएकै कारण कैयौँ रेफ्रीको हत्या भयो । तर यसका बाबजुद पनि कोलम्बियाली फुटबलको एउटा सशक्त ढाँचा तयार हुँदै थियो ।
जब म्याराडोनालाई पाब्लोले खेल्न बोलाए
पाब्लो एस्कोबारलाई सबैभन्दा बढी चिन्ता कतै कोलम्बियाली सरकारले अमेरिका सुपुर्दगी गर्छ भन्ने थियो । त्यसैले उनले राजनीति पनि सुरु गरे । उनी तल्लो सदनको चुनावमा उठे र जिते पनि । तर न्यायमन्त्रीले उनलाई बर्खास्त गरिदिए । पाब्लोले न्यायमन्त्रीको हत्या गराए ।
सन् १९८९ मा लिबरल पार्टीबाट राष्ट्रपतिका उम्मेदवार बनेका लुइस कार्लोस गलानको हत्या भयो । यसमा पनि पाब्लोकै मान्छेहरुको हात भएको पुष्टि भयो । त्यसपछि कोलम्बिया सरकार लागुऔषध कारोबारीविरुद्ध युद्धकै घोषणा गरेर अगाडि बढ्यो ।
जब आफू असुरक्षित महसुस गरे, पाब्लोले एउटा सम्झौता गरे । उनले निकै ठूलो रकम दिएर आफूलाई जेलमा राखे । जुन जेललाई क्याथेड्रेल जेल भनिन्थ्यो । यो निकै नै आरामदायी जेल थियो । जहाँ फुटबल मैदान पनि थियो । पाब्लोले बोलाएपछि कोलम्बियाका ठूला खेलाडी पनि जेलभित्र फुटबल खेल्न जाने गर्थे ।
सन् १९९१ मा अर्जेन्टिनी लिजेन्ड डिएगो म्याराडोनालाई एउटा सन्देश आयो, कोलम्बियाका एक महत्वपूर्ण व्यक्तिका लागि म्याराडोनाले एक मैत्रीपूर्ण खेल खेलून् ।
म्याराडोनालाई ला क्याथेड्रेल जेल लगियो । एउटा साक्षात्कारमा म्याराडोना भन्छन्, ‘म हजारौँ गार्डहरुबाट घेरिएको थिएँ । यस्तो लागिरहेको थियो कि मलाई गिरफ्तार गरिएको छ । जेल जेलजस्तो नै थिएन, एउटा शानदार होटेल लागिरहेको थियो ।’ म्याराडोनाले त्यो खेल खेले । उनले त्यसबापत मोटो रकम लिएको बताइन्छ ।
नार्को फुटबलमा आएको पैसाले यस्तो माहोल बनाइदियो कि सन् १९९४ को विश्वकपको तयारी मा कोलम्बियाले ३४ मध्ये एक खेल मात्रै हार्यो। तर यसले क्षति पनि धेरै पुर्यायो। कोलम्बियाका स्टार गोलरक्षकसँग पाब्लोको मित्रता थियो । उनलाई एउटा अपहरण मुद्धामा गिरफ्तार गरियो । उनले विश्वकप खेल्न पाएनन् । भलै कोलम्बियाली फुटबललाई खडा गर्नुमा पाब्लोको हात थियो तर राष्ट्रिय गौरवका प्रतीक खेलाडी कुनै अपराधीसँग कसरी सम्बन्ध कायम गर्न सक्छन् ।
सन् १९९३ मा प्रहरीबाट भाग्दै गरेको आरोपमा पाब्लो एस्कोबारलाई गोली हानेर मारियो । सन् १९९४ मा अमेरिकाविरुद्धको कोलम्बियाको खेल उनले हेर्न पाएनन् । पाब्लोकी बहिनी मारियाले ‘द टु एस्कोबार्स’ डक्युमेन्ट्रीमा भन्छिन्, ‘उनले सबैभन्दा पहिले किनेको जुत्ता फुटबल सुज थियो, जब उनको मृत्यु भयो त्यति बेला पनि उनको खुट्टामा फुटबल सुज नै थियो ।’
नार्को फुटबलले अर्का एस्कोबारको ज्यान लियो
कोलम्बियाली फुटबललाई नयाँ ढाँचामा ल्याउने पाब्लो एस्कोबार सन् १९९३ मा मारिए । तर लागुऔषधबाट आएकै पैसाले भए पनि कोलम्बियाली टिम सशक्त थियो ।
सन् १९९४ को कोलम्बियाली टिमलाई पेलेजस्ता दिग्गज खेलाडीले पनि विश्वकपको उपाधिका दावेदार मानेका थिए । विश्वकप छनौलट प्रतियोगितामा कोलम्बियाले अर्जेन्टिनालाई ५–० ले हराएको थियो । यस टिमका कप्तान थिए एन्ड्रेस एस्कोबार । यी एस्कोबारको पाब्लो एस्कोबारसँग कुनै सम्बन्ध थिएन । एन्ड्रेस एक धार्मिक व्यक्ति थिए, दिनहुँ बाइबल पढ्ने । तर कोलम्बियाली फुटबलमा आएको पैसाको स्रोतलाई लिएर उनी सधैँ चिन्तित थिए ।
पाब्लोको मृत्युपछि मेडेलिनका लागुऔषध माफिया बेलगाम थिए । सशक्त कोलम्बियाली फुटबल टिममा माफियाको दबाब थियो । खेलाडीलाई राम्रो प्रदर्शन नगरे हत्या गरिदिनेसम्मका धम्की आएका थिए । कोलम्बियाली टिमको पक्षमा करौडौँको सट्टेबाजी लागेको थियो । निकै नै दबाबमा खेलेका एन्ड्रेसले आफ्नै पोस्टमा गोल गरे । अमेरिका १–० ले अगाडि थियो । ५२ औँ मिनेटमा अमेरिकाले एर्नी स्टेवार्टको गोलमा अग्रता दोब्बर बनायो । खेलको ९० औँ मिनेटमा कोलम्बियाका लागि एडोल्फो भ्यालेन्सियाले गोल गरे । तर ढिला भैसकेको थियो । खेल अमेरिकाले २-१ ले जित्यो ।
कोलम्बियाले खेल हारेको केही दिनपछि एन्ड्रेस एस्कोबारको मेडेलिनको एउटा नाइट क्लबबाहिर गोली हानी हत्या गरियो । यसको पछाडि माफियाहरुकै हात थियो ।
यसरी कोलम्बियाली फुटबलको सुनौलो युग सुरु हुनुभन्दा पहिले नै समाप्त भयो । धम्कीले भयभित खेलाडीले राष्ट्रिय टिमबाट खेल्न छाडे । जुन ड्रग्सको पैसाले कोलम्बियाली फुटबलको जग बनाएको थियो, त्यसैले भत्काइदियो पनि । कोलम्बियाली टिम फिफा वरीयतामा चार नम्बरबाट ३४ औँ स्थानमा पुग्यो । मान्छेहरुले भन्न थाले कि पाब्लो एस्कोबार बाँचेको भए यस्तो हुन्थ्यो, उस्तो हुन्थ्यो । तर कति राम्रो हुन्थ्यो यदि ड्रग माफियाको पैसा फुटबलमा नलागेको भए ?
स्रोत : उज्यालो अनलाईन
२५ असार २०७५, सोमबार २२:१२ प्रकाशित