राप्तीसोनारीको गाउँसभाबाट ६ वटा कानुन पारित
  • काँचुली खबर

राप्तीसोनारी गाउँपालिकाले विभिन्न ६ वटा कानुन पारित गरेको छ । गाँउपालिका कार्यालय अगैया बाँकेमा सोमबार सम्पन्न भएको १०औं गाँउपासभाले कृषि तथा पशुपंक्षी, खानेपानी तथा सरसफाई र स्वच्छता सम्बन्धी, नमुना वन सम्बन्धी, भुमी सम्बन्धी, स्वास्थ्य तथा सरसफाई र सहकारी सम्बन्धी संशोधित ऐन सर्वसम्मत रुपमा पारित भएको हो ।

सो क्रममा राप्ती सोनारी गाउँपालिका अध्यक्ष एवं १०औं गाउँसभाका सभाध्यक्ष लाहुराम थारुले ६ वटै विधेयकहरु सर्वसम्मत रुपमा पारित भएको घोषणा गरे । यस्तै गाउँसभाले उपाध्यक्ष धनीकुमारी खत्रीले प्रस्तुत गर्नु भएको चालु आर्थिक वर्षको बजेट कार्यान्वयनको अवस्था र बजेट संशोधनलाई पनि सर्वसम्मत रुपमा पारित गरेको प्रमुख प्रशासकीय अधिकृत लोकबहादुर शाहीले जानकारी दिए ।

सभामा गाउँपालिकाका विधायन समितिका संयोजक गंगाराम थारुले प्रस्तुत विधेयकबारे आफ्नो धारणा राखेका थिए । यस्तै सभाका सदस्य महाबीर ओली, टिकाराम बस्नेत र धनी ओलीले सम्बोधन गरेका छन । गत माघ २७ गते १०औं गाउँसभा सुरु भएको थियो । सभाको पहिलो बैठकमा प्रस्ताव गरिएका विधेयकका मस्यौदा अध्ययन गर्नका लागि सभासदहरुलाई समय दिइएको थियो ।

  • २ फाल्गुन २०७८, सोमबार २०:३७ प्रकाशित
  • Nabintech