सातौं धारा नेपालगन्ज म्याराथनमा सबै विधाका नगद पुरस्कार राशीमा वृद्धि गरिएको छ ।
मुख्य प्रायोजक केएल दुगड ग्रुपका महाप्रबन्धक प्रदीप छाजेड, लुम्बिनी खेलकुद परिषदका सदस्यसचिव भिम ओली, आशीर्वाद पेन्ट्सका कार्यकारी अध्यक्ष किरण कार्की, शिखर प्लाईका कार्यकारी अध्यक्ष चम्पालाल बोथरा, राष्ट्रिय वाणिज्य बैंकका प्रदेश प्रमुख दिनेश गौतम, फोन पेका शाखा प्रबन्धक महेन्द्र रानाको उपस्थितिमा नेपालगन्ज म्याराथनका संस्थापक⁄अध्यक्ष टीएस ठकुरीले नगद पुरस्कार घोषणा गरेका हुन् ।
म्याराथन(पुरुष) तथा हाफ म्याराथन(महिला)मा शीर्ष सात जनालाई नगद राशीबाट पुरस्कृत गरिने अध्यक्ष ठकुरीले जानकारी गराए ।
म्याराथनतर्फ विजेतालाई एक लाख, उपविजेतालाई ५० हजार, तृतीयलाई २५ हजार, चौथोलाई १५ हजार, पाँचौंलाई १० हजार, छैटौंलाई ८ हजार र सातौंलाई ७ हजार प्रदान गरिनेछ ।
त्यसैगरी हाफ म्याराथन (महिला)तर्फ विजेताले ५१ हजार, उपविजेताले २५ हजार, तेस्रोले १५ हजार, चौथोले १० हजार, पाँचौंले ८ हजार, छैटौंले ७ हजार र सातौंले ६ हजार पाउनेछन् । १० किमी खुल्ला पुरुषतर्फ प्रथम हुनेले २५ हजार, दोस्रोले १५ हजार र तेस्रोले १० हजार तथा महिला ५ किमी खुल्लातर्फ प्रथमले १५ हजार, दोस्रोले १० हजार र तेस्रोले ७ हजार पाउनेछन् ।
त्यैगरी स्कुल लेभल छात्र ५ किमीमा पहिलो हुनेले १० हजार, दोस्रो हुनेले ७ हजार र तेस्रो हुनेले ५ हजार पाउनेछन् भने ३ किमी छात्रा स्कुलतर्फ पहिलो हुनेले ७ हजार, दोस्रोले पाँच हजार र तेस्रोले ३ हजार पाउनेछन् । ह्वीलचेयरतर्फ पहिलो हुनेले ७ हजार, दोस्रोले ५ हजार र तेस्रोले ३ हजारबाट पुरस्कृत हुनेछन् । किड्स रन तथा कर्पोरेट रनतर्फ भने पदक तथा उपहार प्रदान गरिनेछ । वाकाथनमा सबैलाई सोलिडारिटीका लागि सहभागि गराइनेछ ।
कार्यक्रममा मुख्य प्रायोजक केएल दुगड ग्रुपका महाप्रबन्धक प्रदीप छाजेडले नेपालगन्ज म्याराथनसँग निरन्तर साझेदारी गर्न आफुहरु तयार रहेको बताउँदै यसका विजेतालाई अन्तर्राष्ट्रिय सहभागि हुन लायक खेलाडीका हकमा बर्षभरिको प्रशिक्षण खर्च व्यवस्थापन गर्न आफुहरु सदैव तत्पर रहेको घोषणा गरे । पत्रकारको जिज्ञासामा महाप्रबन्धक छाजेडले म्याराथनमार्फत आफ्नो उत्पादनको ब्रान्डिङमा समेत टेवा पुगेको हुँदा निरन्तर साझेदारी गरिरहेको बताए ।
आशीर्वाद पेन्ट्सका कार्यकारी अध्यक्ष किरण कार्कीले राष्ट्रिय कीर्तिमान तोड्ने खेलाडीलाई नगद २५ हजारले अलग पुरस्कृत गर्ने र विदेशी भुमिमा राष्ट्रिय रेकर्ड बनाउने खेलाडीलाई नगद ५० हजारले पुरस्कृत गर्ने घोषणा गरे । त्यसैगरी शिखर प्लाईका कार्यकारी अध्यक्ष चम्पालाल बोथराले सातौं धारा नेपालगन्ज म्याराथनको विजेता अन्तर्राष्ट्रिय सहभागिता हुने हकमा आफ्नो ब्रान्डबाट यथाशक्य सहयोग हुने बताए । राष्ट्रिय वाणिज्य बैंकका प्रदेश प्रमुख दिनेश गौतमले पवित्र उद्देश्य बोकेको अभियानलाई निरन्तर साथ दिने वचन दिए ।
लुम्बिनी प्रदेश खेलकुद परिषदका सदस्यसचिव भिम ओलीले नेपालगन्ज म्याराथनको व्यवस्थापकीय बिशेषता र स्तरीकरणको अभ्यास हेर्दा आठौं बर्षमा पुग्दा अन्तर्राष्ट्रिय धावक ल्याउन सफल हुनेमा विश्वस्त रहेको बताए ।
रेश डाइरेक्टर चन्द्रबहादुर गुरुङले प्राविधिक हिसाबले म्याराथनको व्यवस्थापनमा कुनै कसर बाँकी नराख्ने धारणा राखे ।
नेपालगन्जम्याराथनको पहिलो संस्करणमा नेपाली सेनाका होमलाल श्रेष्ठ, दोस्रोमा सेनाकै कृष्ण बस्नेत, तेस्रोमा जुम्लाका दुर्ग बुढा, चौथो संस्करणमा नेपाल पुलिस क्लबका भुमिराज राई, पाँचौंमा सेनाका नवराज साउद र छैटौंमा नेपाल एपीएफ क्लबका गोपीचन्द्र पार्की विजेता भएका थिए । त्यस्तै महिला हाफम्याराथनमा नेपालकी नम्बर एक धाविका कान्छीमाया कोजु दुई संस्करणमा विजेता भइसकेकी छिन् । पाँचौं संस्करणमा सेनाकी पूर्णलक्ष्मी न्यौपाने र छैटौंमा एपीएफकी पुष्पा भण्डारीले जितेकी थिइन् ।
क्रिएटिभ ह्यान्ड्सको आयोजना तथा क्रियटिभ गन्ज मिडिया एण्ड इभेन्ट्सको व्यवस्थापनमा यस पटक यहि मंसिर ४ गते शनिबार सातौं धारा नेपालगञ्ज म्याराथन आयोजना हुँदैछ ।
सरकार र सशस्त्र द्वन्द्वरत तत्कालिन माओवादीका बीचमा २०६३ मंसीर ५ गते भएको बिस्तृत शान्ति सम्झौताको स्मरण गर्दै हरेक वर्ष मंसिर पहिलो शनिवार नेपालगञ्ज म्याराथन आयोजना हुँदै आएको छ ।
२ मंसिर २०७८, बिहीबार १८:१७ प्रकाशित