आफुहरुलाई जानकारी नै नगराई सामाजिक सञ्जाल तथा अनलाइन पोर्टलहरुमा असन्तुष्ट पक्षको तर्फबाट विभिन्न पदमा उम्मेदवारी सार्वजनिक भएको घटनाप्रति कोहलपुर नगरपालिका वडा नं. ५ सम्वद्ध काँग्रेस क्रियाशील सदस्यहरुले आपत्ती जनाएका छन् ।
नेपाली काँग्रेसको १४ औं महाधिवेशन अन्तर्गत वडा अधिवेशनबाट चयन हुने विभिन्न पदहरुमा असन्तुष्ट पक्षहरु बताइएकोे भेलाबाट आफुहरुको नाम विभिन्न पदको उमेद्वारहरुको रुपमा सार्वजनिक गरिएकोमा वडाका ९ जना क्रियाशील सदस्यहरुले आपत्ती जनाएका हुन् ।
क्रियाशील सदस्यहरु विमल शर्मा, कृष्ण बहादुर अधिकारी, अनिल आले, हरि बहादुर रेउले, दिपा कुमारी थापा, अभयराज आचार्य, बन्धिया थारु, लौटनिया थारु र विश्वनाथ सिग्देलले संयुक्त रुपमा हस्ताक्षर गर्दै छलफल तथा जानकारी बिना आफुहरुको नाम उमेद्वारको रुपमा सार्वजनिक गरी प्रकाशन भएका समाचारहरुको खण्डन सहित आपत्ती जनाएका हुन ।
९ जना क्रियाशील सदस्यहरुले हस्ताक्षर सहित जारी गरेको खण्डनमा नेपाली काँग्रेसको महाधिवेशन अन्तर्गतको वडा अधिवेशनमा कुनै पनि पदमा आंकाक्षी समेत नरहेको स्पष्ट पारेका छन् । साथै उनीहरुले पार्टीको महाधिवेशन सौहार्दपूर्ण तरिकाले सम्पन्न गराउन जिम्मेवार व्यक्तिहरुलाई आग्रह समेत गरेका छन् ।
५ आश्विन २०७८, मंगलवार १९:२७ प्रकाशित