सर्वदलीय बैठक सकियो, के भयो निर्णय ?
  • काँचुली खबर

सभामुख अग्निप्रसाद सापकोटाले डाकेको सर्वदलीय बैठक निष्कर्षबिना नै सकिएको छ । प्रमुख विपक्षी दल नेकपा एमालेले निरन्तर संसद् बैठक अवरुद्ध गरेपछि सभामुखले बैठक सञ्चालनका लागि सहज वातावरण बनाउने भन्दै सर्वदलीय बैठक डाकेका थिए ।

सर्वदलीय बैठकमा नेकपा एमाले अनुपस्थित भएपछि निष्कर्षहीन भएको हो । ‘सभामुखले छलफलजारी राख्नु भएको छ । निष्कर्ष केही निस्केको छैन । प्रमुख विपक्षी दलको नेताबिना यो बैठकको औचित्य भएन’ लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले भने ।

त्यस्तै जनमोर्चाकी सांसद दुर्गा पौडेलले पनि एमालेबिनाको छलफल कुनै निष्कर्ष नभई सकिएको बताइन् । ‘संसद् एमालेको हो एमालेले कुनै हठको भरमा, लिँडे कुरामा लाग्नु हुँदैन,’ उनले भनिन्, ‘संसद् बैठक सञ्चालनका लागि एमालेले वातावरण बनाउनु पर्छ । संसद् भनेको प्रतिपक्षीको हो । अझै एमाले त प्रमुख प्रतिपक्षी पनि हो ।’

एमालेले आफूले कारबाहीका लागि सिफारिस गरेका १४ जना सांसदको विषयमा सभामुखले निष्पक्ष भूमिका खेल्न नसकेको बताउँदै आएको छ । आफ्नो पार्टी विभाजनका लागि सभामुखले भूमिका खेलेको एमाले नेताहरुले आरोप लगाएका छन् । बैठकमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जसपा, लोसमा, राष्ट्रिय जनमोर्चा र नेपाल मजदूर किसान पार्टी सहभागी थिए ।

  • २८ भाद्र २०७८, सोमबार १७:३७ प्रकाशित
  • Nabintech