नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतम पत्नी तुलसा थापा पनि माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) पार्टीमा जोडिएकी छन् ।
बुधबार नेकपा (एकीकृत समाजवादी) दल दर्ताका लागि निर्वाचन आयोगमा सनाखत गर्न तुलसा पनि पुगेकी हुन् ।
थापासहित माया ज्ञवाली, शारदा भट्ट र सोमप्रसाद पाण्डेको पनि सनाखत गराउने विषयमा आयोगमा छलफल भएको थियो ।
तर आयोगले उनीहरु चारजनाको नाम सनाखत गर्न अस्वीकार गरेपछि मावधको पार्टीमा २९ जना सांसदले मात्रै सनाखत गरेका छन् ।
केन्द्रीय कमिटीमा माधवले करिब ३० प्रतिशत जुटाउन सफल हुँदा दलमा भने २० प्रतिशत पुर्याउन चुकेका हुन् ।
एकीकृत समाजवादीको पक्षमा दिल्लीमा उपचाररत झलनाथ खनालले पनि सनाखत गर्दा माधवको पार्टीमा २९ जना सांसदबाट मात्रै सनाखत सम्भव भएको हो ।
बुधबार दिउँसो २ बजेसम्म झलनाथ खनालसहित ३० जाना सांसद र ५५ जना केन्द्रीय सदस्यको सनखत भएको नेता मेटमणि चौधरीले बताए ।
वामदेव कता ?
यसैबीच एमाले उपाध्यक्ष वामदेव गौतम भने अझै पनि अनिर्णित छन् । उपाध्यक्ष गौतमले केही दिनअघि आफू नेकपा एमालेमै रहने बताएका थिए ।
माधव नेपाल पक्षले आफ्नोसहित फोटो राखेर एकीकृत समाजवादीमा रहेको चर्चा गरेपछि गौतमले आफ्नो सचिवालयमार्फत यस्तो बताएका थिए ।
तर त्यसअघि उनले आफूलाई माधवकुमार नेपालले खोलेको पार्टीको पक्षमा उभ्याएका थिए ।
नेपालतर्फको पार्टीमा गएर सरकारमा जाने योजना सफल नहुने भएपछि उनी ‘यु टर्न’ भएर एमालेतिरै रहेको बताएका थिए ।
तर उनी मंगलबार च्यासलमा बसेको एमाले स्थायी कमिटी बैठकमा सहभागी भएनन् ।
माधव नेपाल पक्षमा लागेका १० जना स्थायी कमिटी सहभागी भएको बैठकमा पनि उपस्थित नभएका गौतम केही दिनदेखि मौन छन् ।
तर उनले पत्नी तुलसालाई भने माधव नेपालतिर खुलाएका छन् । केही समयअघि ओलीसँग कुनै हालतमा नमिल्ने बताएका गौतम आफू भने कता खुल्ने अझै टुंगो गरिसकेका छैनन् ।
२०७७ पुस ५ गते प्रतिनिधिसभा विघटन भएयता गौतम कुनै समूहमा नलागी एकता अभियानमा छन् ।
उनले नेकपा खारेज भएर एमालेमा फर्किँदा पनि एकता अभियान चलाउने बताएका थिए । एमालेमा ब्यूँतिएपछि केही बैठकमा आएका उनी पछिल्लो समय ओली र नेपाल दुवैतिर सम्पर्कमा रहेर पनि अझै अनिर्णित छन् ।
९ भाद्र २०७८, बुधबार १६:५१ प्रकाशित