एमाले समाजवादी र जसपा लोकतान्त्रिक दर्ता हुन ३५ दिन लाग्ने
  • काँचुली खबर

निर्वाचन आयोगमा दर्ताका लागि निवेदन दिएका दुई दल नेकपा एमाले समाजवादी र जसपा लोकतान्त्रिक दर्ता हुन ३५ दिन लाग्ने भएको छ ।

नेकपा एमाले र जनता समाजवादी पार्टीबाट विभाजित भएर दुईवटा नयाँ दल दर्ताका लागि बुधबार निर्वाचन आयोगमा निवेदन परेको छ । सरकारले राजनीतिक दलसम्बन्धी ऐन संशोधन गरेर अध्यादेश ल्याएसँगै एमाले विभाजन गर्दै माधवकुमार नेपालपक्षले एमाले समाजवादी र जसपा विभाजन गर्दै महन्थ ठाकुरपक्षले जसपा लोकतान्त्रिक नामक दल दर्ताका लागि निवेदन दिएका छन् ।

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले प्राप्त निवेदनमाथि प्रक्रिया पुर्‍याएर दल दर्ता गर्न ३५ दिनको समय लाग्ने बताएका छन् । निवेदन औपचारिक रुपमा आयोगमा दर्ता भएको र उक्त निवेनमाथि अब प्रक्रिया सुरु हुने उनको भनाइ छ ।

‘अहिलेसम्म दर्ताको निवेदन आएको हो, सरकारले अध्यादेश जारी गरेको कुरा हामीले पनि सार्वजनिक सञ्चारमाध्यमबाट सुनेका हौं,ु उनले भने, ‘अध्यादेश राजपत्रमा आएपछि राजनीतिक दलसम्वन्धी नियमावली संशोधन प्रक्रिया अघि बढ्छ अनि निवेदनमाथि निर्णय हुन्छ ।’

आयोगले निवेदनमाथि कानुनी व्यवस्था हेरेर निर्णय गर्ने र त्यसका लागि ३५ दिनसम्मको समय लाग्ने उनले बताए । ‘निवेदन दर्ता भएको ३५ दिनभित्र दल दर्ता हुने कानुनी व्यवस्था नै हो,’ उनले भने, ‘कानुनभन्दा बाहिर जाने छुट छैन ।’

उनले नियमावली संशोधनसँगै आयोगमा दर्ता भएका निवेदनमाथिको कारबाही प्रक्रिया अगाडि बढ्ने बताए ।

  • २ भाद्र २०७८, बुधबार १६:५७ प्रकाशित
  • Nabintech