नेपाल रेल्वे कम्पनीका महापबन्धक गुरुप्रसाद भट्टराईले पदबाट राजीनामा दिएका छन् । सरकारले भट्टराईलाई साउन १९ गते स्पष्टिकरण सोधेको थियो । रेल सञ्चालनका लागि गर्नुपर्ने पूर्वतयारी भइरहेको अवस्थामा आफूलाई हठात् स्पष्टिकरण सोधेर सरकारले प्रतिशोध साँधेको भट्टराईले बताएका छन् ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा बुझाएको राजीनामा पत्रमा जनाइए अनुसार मन्त्रालयका नियुक्तीहरू तथा मापदण्डमा व्यवस्था नै नभएका विषयमा आरोप लगाएर स्पष्टिकरणको नाटक मञ्चन गरिएको भट्टराईद्धारा जारी राजीनामा उल्लेख गरिएको छ ।
‘अराजनीतिक ढंगले स्थापित र विकास विरोधी तथा जनविरोधी सरकारअन्तर्गत रहेर पदीय जिम्मेवारी निभाउन नसकिने तथा देश र जनताविरुद्ध विभिन्न अवाच्छित स्वार्थहरूको गठजोडबाट बनेको गंगटे सरकारले गरेको जनविरोधी कामको जनविरोधी कामहरूको सहयात्री र मुकदर्शक हुन मेरो नैतिक मूल्य र मान्यताले नदिने हुँदा मैले आजकै मितिदेखि लागू हुने गरी नेपाल रेल्वे कम्पनी लिमिटेडको अध्यक्षबाट राजिनमा गरेको छु,’ राजीनामा पत्रमा उल्लेख गरिएको छ ।
२७ श्रावण २०७८, बुधबार १४:१४ प्रकाशित