लुम्बिनीको विशेष अधिवेशन रोक्ने प्रयास असफल
  • काँचुली खबर

लुम्बिनी प्रदेशसभाको विशेष अधिवेशन रोक्न माग गर्दै सर्वोच्च अदालतमा दायर रिटमा मंगलबार सुनुवाइ हुन सकेन ।

यससँगै मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अविश्वास प्रस्तावमाथि छलफल गर्न भोलि बोलाइएको लुम्बिनी प्रदेशसभाको विशेष अधिवेशन नरोकिने भएको छ ।

लुम्बिनीमा विपक्षी नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाका ३४ सांसदले मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव दर्ता गरेका छन् ।

विपक्षी दलका सांसदले गरेको समावेदनका आधारमा प्रदेश प्रमुख अमिक शेरचनले साउन २७ गतेका लागि विशेष अधिवेशन बोलाएका छन् ।

प्रदेश प्रमुखले बोलाएको विशेष अधिवेशनविरुद्ध नेकपा एमालेका सांसद लीला गिरीले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए ।

उक्त रिट मंगलबार न्यायाधीश प्रकाशमान सिंह राउतको इजलासमा राखिएको थियो । तर रिट हेर्न नभ्याइएको सर्वोच्चका प्रवक्ता बाबुराम दाहालले जानकारी दिए ।

  • २६ श्रावण २०७८, मंगलवार १७:४६ प्रकाशित
  • Nabintech