कर्मचारी, सुरक्षाकर्मी र शिक्षकको नयाँ तलबमान स्वीकृत, यस्ता छन् मन्त्रिपरिदका ७ निर्णय
  • काँचुली खबर

सरकारले निजामती कर्मचारी, सुरक्षाकर्मी र शिक्षकको नयाँ तलबमान स्वीकृत गर्ने निर्णय गरेको छ । सोमबार बालुवाटारमा बसेको मन्त्रिपरिषद बैठकले उक्त निर्णय गरेको सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।

‘सबै तहका निजामती कर्मचारी, नेपाली सेना, नेपाल प्रहरी, शशस्त्र प्रहरी, नेपाल स्वास्थ्य सेवा, संसद सेवा, सामुदायिक विद्यालयका शिक्षक, प्रदेश तथा स्थानीय तहका कर्मचारीका लागि साउन १ गतेदेखि लागू हुने गरी नयाँ तलबमान स्वीकृत गर्ने निर्णय भएको छ,’ प्रवक्ता कार्कीले भने ।

यसअघि बजेटमार्फत सरकारले सबै तहका निजामती कर्मचारी, नेपाली सेना, नेपाल प्रहरी, शशस्त्र प्रहरी, नेपाल स्वास्थ्य सेवा, संसद सेवा, सामुदायिक विद्यालयका शिक्षक, प्रदेश तथा स्थानीय तहका कर्मचारीका लागि मासिक २ हजार रुपैयाँ तलव बढाएको थियो ।

यस्ता छन् मन्त्रिपरिषद् बैठकले गरेका निर्णय

– हेलो सरकार गुनासो व्यवस्थापन निर्देशिका, २०७८ छलफलका लागि मन्त्रिपरिषद प्रशासनमा पठाउने ।

– सबै तहका निजामति कर्मचारी, नेपाली सेना, नेपाल प्रहरी, शसस्त्र प्रहरी, नेपाल स्वास्थ्य सेवा, संसद सेवामा कार्यरत कर्मचारी, सामुदायिक विद्यालयमा कार्यरत शिक्षक र प्रदेश तथा स्थानीय तहका कर्मचारीका लागि २०७८ साउन १ देखि लागू हुने गरी नयाँ तलबमान स्वीकृत गर्ने ।

– विशेष आर्थिक क्षेत्र पहिलो संशोधन नियमावली-२०७८ को छलफलका लागि मन्त्रिपरिषद आर्थिक तथा पूर्वाधार समितिमा पठाउने ।

– माथिल्लो त्रिशुली ए जलविद्युत आयोजनाको जग्गा प्राप्ति गर्ने कार्यका लागि सोही आयोजनाका सहायक प्रशासक कमल बहादुर बोगटीलाई प्रारम्भिक कारबाही चलाउने अधिकारी चयन ।

– नेपाल परराष्ट्र सेवा राजपत्रांकित द्वीतीय तहका उपसचिव सूर्य भट्टराई, घनश्याम लम्साल र तेजबहादुर क्षेत्रीलाई परराष्ट्र सेवाको प्रथम श्रेणीको पदमा बढुवा गरि परराष्ट्रमा पदस्थापना गर्ने ।

– सैनिक सेवा चौथो संशोधन नियमावली-२०७८ लाई छलफलका लागि विधेयक समितिमा पठाउने ।

– कृषि तथा वन सेवा तर्फको राजपत्राङ्कित विशिष्ट श्रेणीको पदका गोविन्दप्रसाद शर्मालाई बढुवा गरी कृषि तथा पशुपन्छि विकास मन्त्रालयको सचिव चयन ।

  • २५ श्रावण २०७८, सोमबार १८:२५ प्रकाशित
  • Nabintech