नेपालमा कोरोनाबाट १० हजार बढिको मृत्यु
  • काँचुली खबर

नेपालमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या १० हजार नाघेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप २५ जनाको मृत्यु भएसँगै मृतकको संख्या शुक्रबार १० हजार नाघेको हो ।

मन्त्रालयका अनुसार हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या १० हजार १९ पुगेको छ ।

कोरोनाबाट नेपालमा २०७७ जेठ ३ मा पहिलो पटक मृत्युको घटना बाहिर आएको थियो । सिन्धुपाल्चोककी २९ वर्षीया महिलाको कोरोनाका कारण मृत्यु भएको थियो । उनी सुत्केरी थिइन् । उनले त्रिवि शिक्षण अस्पतालमा वैशाख २०७७ वैशाख २४ गते शिशुको जन्म दिएकी थिइन् भने २५ गते डिस्चार्ज भएर सिन्धुपाल्चोकस्थित घर गएकी थिइन् ।

तर घर गएसँगै उनलाई ज्वरो आउनुका साथै स्वासप्रश्वासमा पनि समस्या देखिएपछि स्थानीय अस्पतालमा भर्ना लगिएको थियो । तर त्यहाँ कोरोनाको आशंका गर्दै धुलिखेल अस्पतालमा रिफर गरिएकोमा उनको मृत्यु भएको थियो भने स्वाब परीक्षण गर्दा कोरोना पुष्टि भएको थियो ।

नेपालमा कोरोनाको पहिलो केस भने २०७६ को माघ १० मा पुष्टि भएको थियो । चीनबाट नेपाल आएका विद्यार्थीमा कोरोना पुष्टि भएको थियो । हाल देशभर कोरोना संक्रमितको कुल संख्या पीसीआर विधिबाट ७ लाख १० हजार ५०९ र एन्टिजेन बिधिबाट ७६ हजार ८० जनामा संक्रमण पुष्टि भएको छ ।

संक्रमितमध्ये हालसम्म ६ लाख ६५ हजार ५४८ पुगेको छ भने मृतकको कुल संख्या १० हजार १९ पुगेको छ । हाल देशभर सक्रिय संक्रमित ३४ हजार ९४२ जना रहेका छन् ।

स्वास्थ्य मन्त्रालयको तथ्यांकअनुसार कोरोना महामारीको पहिलो लहर (३ चैत २०७७ सम्म) ३ हजार १४ जनाको मृत्यु भएको थियो । तर दोस्रो लहरको करीब ५ महिनामा थप ७ हजारभन्दा बढीको कोरोना संक्रमणबाटै मृत्यु भएको छ । दोस्रो लहरको शुरुवाती पहिलो महिनाको अवधिमा कोरोना संक्रमणबाट ५६ जनाको मृत्यु भएको थियो । सबभन्दा बढी ३ जेठदेखि ३ असारसम्म ३ हजार ३८२ जनाको मृत्यु भएको तथ्यांकले देखाएको छ ।

  • २२ श्रावण २०७८, शुक्रबार २१:११ प्रकाशित
  • Nabintech