कोहलपुरका २१ सहित बाँकेका २३ जनामा संक्रमण पुष्टि
  • काँचुली खबर

बाँकेमा कोरोना भाईरस संक्रमणको जोखिम बढेको छ । जिल्ला कोभिड-१९ संकट ब्यवस्थापन केन्द्रको तथ्याङ्क अनुसार बाँकेमा कोरोना संक्रमणको ग्राफ पुन उकालो चढ्न थालेको हो ।

केन्द्रका अनुसार बिहिबार एकैदिन बाँकेका तीन वटा प्रयोगशालामा गरिएको परीक्षणमा बाँकेका २३ जनामा संक्रमण देखिएको छ ।

जिल्ला कोभिड-१९ व्यवस्थापन समितिका फोकलपर्सन तेज वलीका अनुसार संक्रमण पुष्टि भएका २१ जना कोहलपुरका हुन । तीमध्ये ६ जना बालबालिका छन् । उनीहरु ९ देखि १८ वर्षसम्मका छन् । कोहलपुर वडा नम्वर १, २, ५ र १० मा कोभिड संक्रमण बढी देखिएको छ ।

बिहिबार बाँकेमा १८८ नमुना परीक्षण गरिएको थियो । जसमध्ये भेरीको प्रयोगशालामा एक सय नमुना परीक्षण गर्दा २०, मेडिकल कलेज कोहलपुरमा ५९ नमुना परीक्षण गर्दा ७ र बागेश्वरी प्रयोगशालामा २९ नमुना परीक्षण गर्दा ४ जनामा भाइरस संक्रमण पुष्टि भएको हो ।

योसँगै बाँकेमा संक्रमितको संख्या १७ हजार ६ सय ९३ पुगेको छ । यस्तै भाइरस संक्रमणबाट बिहिबार बिहान गेरुवा गाउँपालिका-५ बर्दियाका ७० वर्षीय पुरुषको भेरी अस्पतालमा मृत्यु भएको छ ।

  • २१ श्रावण २०७८, बिहीबार १४:४६ प्रकाशित
  • Nabintech