‘यथार्थपत्र’ श्वेतपत्र तयार गर्दै अर्थमन्त्री शर्मा
  • काँचुली खबर

देशको वर्तमान अर्थतन्त्रको अवस्था छर्लङ्ग देखाएर अघि बढ्ने सोचमा रहेका अर्थमन्त्री जनार्दन शर्माले श्वेतपत्र लेखनकार्य अन्तिम चरणमा पुर्याएका छन् ।

डा. सुरेन्द्र उप्रेतीको सहयोगमा लेखन भइरहेको श्वेतपत्रको नामचाहिँ मन्त्री शर्माले ‘यथार्थपत्र’ राखेका छन् ।

अर्थ मन्त्रालयका एक अधिकारीले श्वेतपत्र लेखन अन्तिम चरणमा पुगेको र नाम यथार्थपत्र राखिएको जानकारी दिए । उनका अनुसार अरुलाई दोष लगाउनेभन्दा पनि अर्थतन्त्रको यथार्थ अवस्था र मन्त्री शर्माले आत्मसात् गर्ने नीतिगत कुराहरु त्यसमा समावेश हुनेछ ।

पूर्ववर्ती अर्थमन्त्री र उनीहरुले लिएका नीतिगत कुराको पछि लाग्नेभन्दा पनि वर्तमान अर्थतन्त्रको अवस्था श्वेतपत्रले केलाउने ती अधिकारीको भनाइ छ ।

कमी कमजोरीबारे टिप्पणी र मूल्यांकन जनतालाई नै गर्न दिने मन्त्री शर्माले बताएको ती अधिकारीले बताए ।

उनले भने, ‘कमजोरीको पछि लाग्ने, कसैको अवमूल्यन गर्ने काम गर्दिनँ भनेर मन्त्रीज्यूले भनिसक्नुभएको छ । त्यसकारण श्वेतपत्रले यथार्थ चित्रण गर्छ ।’

तर श्वेतपत्र सर्वसाधारणले समेत बुझ्ने भाषामा वर्तमान अर्थतन्त्रको अर्र्थपरक चित्रण गरिने उनको भनाइ छ ।

‘योभन्दा अघिको सरकारले सिर्जना गरेकोे अतिरिक्त दायित्वको विषयलाई छर्लङ्ग देखाइनेछ’, उनले भने ।

केपी शर्मा ओली प्रधानमन्त्री हुँदा उनले विभिन्न आयोजनाहरु शिलान्यास गरेका र ती आयोजनाहरुमा बजेट नै विनियोजन भएका छन् ।

त्यसले करिब २ खर्ब हाराहारीमा अतिरिक्त दायित्वको आर्थिक भार परेको छ । त्यसको यथार्थ चित्र त्यसमा राखिसकिएको ती अधिकारी बताउँछन् ।
त्यसका साथै अहिलेको आर्थिक सूचकहरुलाई यथार्थ रुपमा देखाइनेछ । अहिलेको अवस्थालाई देखाइरहँदा अर्थमन्त्रीले आफ्नो लक्ष्य समेत यथार्थपत्रमार्फत राख्ने मन्त्रालयले जनाएको छ ।

यसरी तयार पारिएको यथार्थपत्रलाई अर्थमन्त्रीले समयअनुकूल सार्वजनिक गर्ने तयारी गरेका छन् ।

मन्त्रलयका ती अधिकारीले अर्थमन्त्रीले अर्थतन्त्रको वास्तविक चित्र पस्किँदै गर्दा केही विवाद समेत हुने हुनाले अहिलेको राजनीतिक अवस्थालाई पनि ध्यान दिनुपर्ने बताए ।

यो धेरै राजनीतिक दलको समर्थनमा बनेको सरकार भएकाले र सरकार विस्तारको काम समेत पाइपलाइनमा रहेकोले सबै पक्षलाई अनुकूल हुने समयको पर्खाइमा अर्थमन्त्री रहेको उनको भनाइ छ ।

त्यस्तै अहिले बजेट संशोधनको विषयमा पनि अर्थमन्त्री अनुकूल समयको पखाईमा देखिएका छन् ।

प्रधानमन्त्रीले नै संशोधन अर्थात् प्रतिस्थापन विधेयक संसदमा लाने काम मन्त्रिपरिषद्को विस्तारपछि मात्रै गर्ने अर्थमन्त्रीलाई भनिसकेका छन् ।

प्रतिस्थापन विधेयक लगेपछि पास पनि गर्नुपर्ने हुन्छ । त्यसकारण राजनीतिक पक्ष अनुकूल हुने गरी संसदमा बजेट लाने तयारीमा अर्थमन्त्री रहेका छन् ।

  • १७ श्रावण २०७८, आईतवार १९:२९ प्रकाशित
  • Nabintech