नेपालगन्जबाट पोखरासम्म सडक मार्गको यात्राका लागि न्यूनतम १४ घण्टा छुट्याउनुपर्छ, त्यो पनि कुनै अवरोध नभएका अवस्थामा । लामो समयदेखि नेपालगञ्ज–पोखरा सिधा हवाई उडान गर्ने चर्चा चलिरहेका बेलामा पोखरालाई आधार बनाएर बुद्ध एयरले आजदेखि नेपालगञ्ज-पोखराको सिधा हवाई उडान भर्न थालेको छ । हवाई उडानबाट ३५ मिनेटमै गन्तव्यमा पुग्न सकिन्छ ।
पहिलो चरणमा हप्तामा तीन दिन आइतबार, बुधबार र शुक्रबार तीनवटा उडान भर्ने योजनाका साथ आजदेखि उडान शुरु गरिएको हो । गत वैशाख १८ देखि नै नेपालगञ्ज-पोखरा सिधा उडान थाल्ने योजना बनाइए पनि विश्वव्यापी महामारीका रुपमा फैलिएको कोभिड-१९ को असरले उक्त योजना सञ्चालनमा ल्याउन कठिन भएकोमा हाल हप्ताका निर्धारित तीन दिन बिहान ९ः१० बजे नेपालगञ्जका लागि उडान हुनेछ । त्यस्तै नेपालगञ्जबाट १०:०० बजेको उडानबाट यात्रुहरू पोखरा जान पाउनेछन् ।
प्रत्येक उडानका लागि टिकटदर सस्तोमा चार हजार ९३५ रुपैयाँ छ भने अधिकतम सात हजार ६३५ छ । त्यस्तै मध्यमदरको टिकट पाँच हजार ५३५ रुपैयाँको छ । नेपालगन्जबाट चौध घण्टाको सडक यात्रामा रहेको पोखरासम्म अब ३५ मिनेटमै पुग्न सकिनेछ ।
यसअघि अघिल्लो वर्ष फागुनमा नाट्टा गण्डकी प्रदेश र नेपालगञ्ज बाँके च्याप्टरको संयोजनमा सीता एयरको जहाज चार्टड गरी हप्तामा तीनवटासम्म उडान थालिएको थियो । लगभग दुई महिना चाटर्ड गरी उडान गरिए पनि पुनः कोरोनाको दोस्रो लहरका कारण उक्त योजनामा असर परेको थियो ।
रातोपाटीबाट
१७ श्रावण २०७८, आईतवार १५:२८ प्रकाशित