नेपालमा भिसिटिएस प्रणाली लागु भएको २ वर्ष पुगेको छ । २०७६ साउन १ गतेदेखि लागु भएको भिसिटिएस (भेहिकल्स एन्ड कन्साइन्मेनट ट्र्याकिङ सिस्टम) आयात निर्यातका क्रममा सामान ढुवानी गर्ने सवारीसाधन र तिनमा ल्याइएको सामानबारे विस्तृत विवरणको सुपरीवेक्षण गर्ने कार्य हो । तर राजस्व अनुसन्धान विभागले राजस्व चुहावट नियन्त्रण गर्ने उद्देश्यका साथ लागु गरेको भिसिटिएस प्रणालीका बारेमा बाँकेका ब्यवसायीहरुमा भने अन्यौलता देखिएको छ ।
राजश्व अनुसन्धान कार्यालय कोहलपुरका अनुसार भिसिटिएस प्रणालु लागु भएको २ वर्षको अवधिमा बाँकेमा १३९ वटा ढुवानीका सवारी साधन कारबाहीमा परेका छन । जसमध्ये आव ०७६/०७७ मा ११ सय १७ सवारी साधन अनुगमन गरीएकोमा ५६ वटाले भिसिटिएस निति उलङ्घन गरेको पाईएको राजश्व अनुसन्धान कार्यालय कोहलपुरका प्रमुख राजश्व अनुसन्धान अधिकृत सरोज पोख्रेलले बताए । उक्त सँख्या आव ०७७/०७८ मा बढेर ८३ पुगेको र ति ढुवानी साधनबाट २३ लाख २५ हजार जरिवाना संकलन गरीएको पोख्रेलले जानकारी दिए ।
भिसिटिएस प्रणाली लागु भएको पहिलो आव (०७७/०७८) मा कारबाहीमा परेका ढुवानी साधनबाट १४ लाख ५० हजार मात्र राजश्व संकलन गरेको राजश्व अनुसन्धान कार्यालय कोहलपुरले गत आर्थिक वर्षमा ४१ सय १० ढुवानीका साधनलाई अनुसन्धान गर्ने क्रममा ८३ वटाले भिसिटिएस प्रणालीको उलङ्घन गरेको भेटिएको हो ।
ब्यवसायीहरुमा भिसिटिएस प्रणालीको बारेमा देखिएको अन्यौलताले यस्तो समस्या देखिएको राजश्व अनुसन्धान कार्यालय कोहलपुरका प्रमुख राजश्व अनुसन्धान अधिकृत पोख्रेल बताउँछन । बाँकेका ब्यवसायीहरुलाई भिसिटिएस प्रणालीका बारेमा जानकारी दिने उद्धेश्यले विभिन्न समयमा सचेतनामुलक कार्यक्रम आयोजना गर्दै आएको भएपनि ब्यवसायीहरुले त्यसतर्फ खासै चासो नदेखाएको पोख्रेलले बताए । उद्योग वाणिज्य संघ नेपालगन्जसँगको सहकार्यमा राजश्व कार्यालयले भिटिटिएस प्रणालीको बारेमा अभिमुखीकरण कार्यक्रम नै संचालन गरेको बताउँदै पोख्रेलले छिट्टै कोहलपुरमा समेत उक्त कार्यक्रम संचालन गर्ने तयारी भईरहेको बताए ।
के हो भिसिटिएस ?
एक ठाउँबाट अर्को ठाउँमा मालसामान ओसारपसार गर्नुपूर्व ढुवानी गरिने मालसामानको विवरण वेभमा आधारित केन्द्रीय सूचना प्रणालीमा प्रविष्ट गरेर मात्रै ओसारपसार गर्नुपर्ने प्रणालीको नै भिसिटिएस प्रणाली हो । कारोवारको पारदर्शीताका लागि व्यावसायिक प्रयोजनका लागि मालवस्तु तथा ढुवानी साधनको संक्षिप्त विवरण प्रविष्ट गरेर मात्र मालसामान ओसार-प्रसार गरिन्छ । यसमा व्यावसायिक प्रयोजनका मालवस्तु आयातरनिर्यातकर्ता, उद्योग, भन्सार एजेण्ट, ढुवानी कम्पनी र वितरक तथा थोक बिक्रेताले विवरण भर्नु पर्दछ । यो प्रणालीमा प्रवेश गर्दा प्रयोगकर्ताले आफैंले युजर आइडी र पासवर्ड बनाउन सक्छन् । राजश्व अनुसन्धान विभागको वेबसाइटमा लग इन गरी प्राप्त निर्देशानुसार मालवस्तु र ढुवानी साधनको संक्षिप्त विवरण प्रविष्ट गरिन्छ । मालसामान गन्तव्यमा पुगेपछि चालक र प्रयोगकर्ताले पुगेको जनाउ दिन सक्छन् ।
राजस्व अनुसन्धान विभागको वेभसाईटमा गएर उद्योगी व्यवसायीहरुले आफ्नो ढुवानी गर्ने वस्तु र साधानको संक्षिप्त विवरण सो प्रणालीमा प्रविष्ट गराउने व्यवस्था गरिएको राजश्व अनुसन्धान कार्यालय कोहलपुरका प्रमुख राजश्व अनुसन्धान अधिकृत पोख्रेलले जानकारी दिए ।
१४ श्रावण २०७८, बिहीबार २१:१७ प्रकाशित