जमुनाह नाकामा सुरक्षा सतर्कता बढाईयो
  • काँचुली खबर

फाईल तस्बिर ।

 

कोभिड-१९ को तेस्रो लहरको सम्भावित जोखिमलाई ध्यान दिँदै नेपालगन्जस्थित नेपाल–भारत सीमा जमुनाह नाकामा सुरक्षा सतर्कता अपनाइएको छ ।

भारतमा नयाँ डेल्टा भेरियन्ट भाइरसका सङ्क्रमित बढ्न थालेपछि रोजगारीका लागि त्यहाँ गएका नेपाली धमाधम स्वदेश फर्किन थालेका हुन् । स्वदेश फर्किएका नेपालीका सीमामा स्वास्थ्य जाँच थालिएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख वरिष्ठ जनस्वास्थ्य प्रशासक धीरजङ्ग शाहले जानकारी दिए । उनले भारतमा फैलिएको महामारी नेपालगन्जमा भित्रिन सक्ने अवस्थालाई ध्यान दिँदै उच्च सतर्कता अपनाएको बताए ।

नाकामा अहिले सीमावर्ती सहर रुपैडिहामा किनमेलका लागि जाने र स्वदेश फर्किनेको भीड लाग्ने गरेको छ । दैनिक रूपमा नेपाली उपभोक्ता किनमेलका लागि भारतीय बजारमा पुग्दा कोभिडको उच्च जोखिम फेरि बढ्न सक्ने उनले बताए ।

भारतबाट आउने व्यक्ति अधिकांश लुम्बिनी र कर्णाली प्रदेशका पहाडी जिल्लाका नागरिक हुन् । जमुनाहनाका हुँदै भारतबाट अहिले दैनिक रूपमा ५०० देखि ६०० को हाराहारीमा मजदुर नेपालगन्ज भित्रिरहेको इलाका प्रहरी कार्यालय जमुनाहका प्रमुख प्रहरी नायब निरीक्षक पूर्ण खत्रीले जानकारी दिए । उनका अनुसार दिल्ली, चण्डिगढ, गुजरात, मुम्बईजस्ता ठाउँमा काम गर्न पुगेका मजदुर अहिले फर्किरहेका छन् भने नेपालतर्फबाट पनि मजदुर भारततर्फ फर्किएका छन् ।

  • १४ श्रावण २०७८, बिहीबार १३:२७ प्रकाशित
  • Nabintech