बृहस्पतीभन्दा ठुलो ग्रह किन्दै अमेरिकी र्‍यापर
  • काँचुली खबर

अमेरिकी र्‍यापर लिल उजी वर्टले वास्प १२७ बी (WASP-127B) नाम एक ग्रह खरीद गर्ने तयारी गरिरहेका छन् ।

क्यानेडाली गायिका, गीतकार, संगीतकार तथा स्पेस एक्स कम्पनीका मालिक एलन मस्ककी प्रेमिकाले उक्त तथ्यको खुलासा गरेकी हुन् ।

वर्टले जुन ग्रह खरीद गर्दैछन् त्यो ग्रहको आकार सौर्यमण्डलको सबैभन्दा ठूलो ग्रह वृहस्पतीको भन्दा डेढ गुणा ठूलो छ ।

यो सौर्यमण्डल बाहिर रहेको एक एक्जोप्लानेट हो र पृथ्वीभन्दा कैयन प्रकाशवर्ष टाढा छ आफ्नो ग्यासीय स्वरुपका कारण यो ग्रहमा जिवनको सम्भावना पनि छैन ।

के हो एक्जोप्लानेट ?

एक्जोप्लानेट अर्थात् बाह्य ग्रह । अमेरिकी अन्तरीक्ष एजेन्सी नासाले आफ्नो केप्लर टेलिस्कोपको सहयोगबाट ब्रम्हाण्डमा लाखौँ प्रकाशवर्ष टाढा रहेका ग्रहहरुको खोजी गरिरहेको हुन्छ ।

सौर्यमण्डलबाट धेरै टाढा रहेका ती ग्रहहरुलाई नै एक्जोप्लानेट अर्थात् बाह्य ग्रह भनिन्छ । ती ग्रहहरुले आफ्नै तारालाई परिक्रमा गरिरहेका हुन्छन् ।

केप्लर मिसनको उद्धेश्य भनेको आकाशगंगाको चारैतर्फ के छ भनेर पत्ता लगाउनु र बाह्य ग्रह पत्ता लगाएर तिनीहरुको नामाकरण गर्नु नै हो ।

ग्रह खरीद गर्ने कुरा ट्वीटर मार्फत् जानकारी

वर्टनले ग्रह खरीद गर्न लागेको खुलासा एलन मस्ककी प्रेमिका ग्रिम्सले बिहिबार ट्वीट मार्फत् गराएकी हुन् ।

संगीतकार ग्रीम्सले आफ्नो ट्वीटर ह्याण्डल @Grimezsz बाट र्यापर वर्टलाई @LILUZIVERT ट्याग गर्दै एउटा ट्वीट लेखिन् र वर्टले नयाँ ग्रह खरीद गर्न लागेका कुेरा सार्वजनिक गरिन् ।

उक्त ट्वीटमा वास्प १२७ बी ग्रहको बारेमा चर्चा गरिएको छ र ग्रहको विशेषताको बारेमा पनि बताइएको छ ।

उनले आफ्नो ट्वीटमा वास्प १२७ बी र पृथ्वीबीचको समानताको बारेमा पनि चर्चा गरेकी छिन् ।

यो ग्रहले एउटा पहेँलो सानो ताराको परिक्रमा गरिरहेको छ जुन हाम्रै सूर्य जस्तै देखिन्छ ।

संगीतकार ग्रिम्सको ट्वीटको जवाफमा र्यापर वर्टले आफुले उक्त ग्रह खरीद गर्न लागेको स्विकार गरेका छन् ।

यद्यपि उनीहरुले उक्त ग्रह खरीद गर्ने प्रक्रिया र त्यसको मूल्यका बारेमा केहीपनि खुलाएका छैनन् । ग्रिम्सले आफ्नो ट्वीटमा ग्रह खरीदका लागि कानूनी दस्तावेज तयार पार्ने लगायतका प्रक्रिया जारी रहेको पनि जनाएकी छिन् ।

के हो वास्प १२७ बी ग्रह ?

नासाका अनुसार वास्प १२७ बी एक विशाल ग्यासीय ग्रह हो जुन पृथ्वीभन्दा ५२२.६ प्रकाश वर्ष टाढा छ । यो ग्रहको व्यास बृहस्पति भन्दा १.३११ गुणा धेरै छ भने पिण्ड चाहीँ वृहस्पतिको भन्दा थोरै अर्थात् ०.१६४७ भाग मात्र छ ।

यो ग्रहले परिक्रमा गरिरहेको पहेँलो तारा यो भन्दा ७२.४ लाख किलोमिटर टाढा छ । यो ग्रहको तारालाई परिक्रमा गर्ने गति निकै उच्च छ र ४।२ दिनमा यसले उक्त ताराको एक चक्कर लगाइसक्छ । जबकि पृथ्वीले सूर्यको परिक्रमा गर्न ३६५ दिन लगाउँदछ ।

नासाले सन् २००८ मा यो ग्रहको खोजी गरेको थियो र सन् २०१६ मा यसबारेमा सार्वजनिक जानकारी दिएको थियो ।

स्मरण रहोस् यदि र्यापर लिल उजी बर्टले यो ग्रह खरीद गरेमा उनी संसारको पहिलो यस्तो मानिस हुनेछन् जो एउटा पूरै ग्रहको मालिक बन्नेछन् ।

तर अहिलेसम्म ब्रम्हाण्डका कुनैपनि खगोलीय पिण्ड खरीद बिक्रिका लागि कुनैपनि व्यवस्था छैन । अन्तराष्ट्रिय कानून अनुसार कुनैपनि देशको सरकारले खगोलीय पिण्डको स्वामित्व कसैलाई दिन वा कसैलाई बेच्न सक्दैन ।

यतिमात्र होइन यस्ता खगोलीय पिण्डहरुको न्वारान गर्ने हक पनि कुनै एक देशलाई छैन । अन्तराष्ट्रिय खगोलीय संघले मात्र खगोलीय पिण्डको नामाकरण गर्दछ । एजेन्सीको सहयोगमा

  • १२ श्रावण २०७८, मंगलवार १४:३७ प्रकाशित
  • Nabintech