आईतबार प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत प्राप्त गरेका छन । सँसदमा विश्वासको मत लिने क्रममा देउवालाई काँग्रेस, माओवादी केन्द्र, जसपा र जनमोर्चाका साँसदहरुले सँस्थागत रुपमै मतदान गरेका छन । त्यसक्रममा एमाले अध्यक्ष केपी ओली पक्षका साँसदसहित एमालेका ३२ साँसदले समेत देउवाको पक्षमा मतदान गरेको पाईएको छ ।
नेकपा एमालेको आइतबार बसेको स्थायी कमिटी बैठकले प्रधानमन्त्री शेरबहादुर देउवाविरूद्ध मत हाल्न सांसदहरूलाई निर्देशन दिएको थियो ।
पार्टीको निर्णय नमानेर देउवाका पक्षमा मत हाल्ने सांसदहरू एमालेमा नरहने पार्टी प्रवक्ता प्रदीप ज्ञवालीले पत्रकारलाई जानकारी गराएका थिए ।
आइतबार राति संसदमा भएको मतदानमा एमालेका ३२ सांसदले पार्टीको निर्णय उल्लंघन गरेका छन् । त्यसमध्ये वरिष्ठ नेता माधवकुमार नेपालसहित २२ जनाले देउवाका पक्षमा विश्वासको मत दिएका छन् भने नेपालनिकट १० सांसद तटस्थ बसेका छन् ।
यसअघि अध्यक्ष केपी शर्मा ओली पक्षका ८ जना सांसदले पनि देउवाका पक्षमा माधव नेपालसँगै फ्लोर क्रस गरेका छन् ।
केपी ओली सरकारमा वन मन्त्री भएका प्रेम आलेले शेरबहादुर देउवालाई विश्वासको मत दिएका छन् । त्यस्तै तनहुँ(१ सांसद कृष्णकुमार श्रेष्ठ किसानले पनि देउवाको पक्षमा मतदान गरेका छन् ।
माधव नेपाल पक्षका सांसदहरुले पनि देउवाको पक्षमा मत दिएका छन् ।
हिरा केसी, पार्वती विसुंखे, कलिला खातुन, विनादेवी बुढाथोकी, धनबहादुर बुढा, समिमा हुसेन, प्रेम आले, किसान श्रेष्ठले देउवालाई मत दिएका हुन् । यी सबै यसअघि ओली पक्षमा सांसद हुन् । उनीहरुले देउवालाई प्रधानमन्त्री बनाउन राष्ट्रपति कार्यालय र सर्वोच्चको रिटमा हस्ताक्षर गरेका थिएनन् । यीमध्ये केही सांसदहरू गत वैशाख २७ गतेमात्रै ओली समूहमा गएका थिए ।
योसँगै एमालेका २२ जना सांसदले नेपालसँगै प्रधानमन्त्री देउवालाई विश्वासको मत दिएको सांसद रामकुमारी झाँक्रीले जानकारी दिएकी छन् ।
यसअघि देउवालाई प्रधानमन्त्री बनाउन माग गर्दै हस्ताक्षर गरेका नेपाल समूहका सांसदहरू तटस्थ बस्ने भन्दै संसद भवनबाट बाहिरिएका थिए ।
झपट रावल, घनश्याम भुसाल, सुरेन्द्र पाण्डे, सोमप्रसाद पाण्डे, दीपकप्रकाश भट्ट, यज्ञराज सुनुवार, नारायण खतिवडा, गोकर्ण बिष्ट, राजबहादुर बुढालगायत सांसदहरू संसद भवनबाट निस्किएका हुन् ।
३ श्रावण २०७८, आईतवार २२:३५ प्रकाशित