कर्मचारी राख्ने विषयमा नगरपालिका र वडा कार्यालयबिच विवाद
  • काँचुली खबर

कोहलपुर कोहलपुर नगरपालिका फेरि विवादमा तानिएको छ । कोहलपुर १५ नं. वडा कार्यालयको कार्यालय सहयोगी पदमा अपारदर्शी तरिकाले कर्मचारी राखेपछि कोहलपुर नगरपालिका फेरि विवादमा तानिएको हो ।

कोहलपुर नगरपालिका वडा नं. १४ का तिल कुमारी बि.क.लाई वडा नं. १५ को वडा कार्यालयमा कार्यालय सहयोगी नियुक्त गरीएको विषयले विवादको रुप लिएको छ । वडा कार्यालयमा कार्यरत एक जना कर्मचारीले राजिनामा दिएपछि १५ नं. वडा कार्यालयमा एउटा दरबन्दी रिक्त रहेको थियो । सोही ठाँउमा नगरपालिकाले मनोमानी ढंगले कर्मचारी नियुक्त गर्न आदेश दिएको र अपारदर्शी तरिकाले कर्मचारी राखेको कुरा बाहिएिको छ ।

वडा कार्यालयले उक्त पदमा सुनिता मगरलाई नियुक्त गर्ने निर्णय गरीसकेको अवस्थामा नगरपालिकाले विकलाई नियुक्त गर्न आदेश दिएपछि नगरपालिका र वडा कार्यालय बिच विवाद देखिएको छ । १५ नं. वडा कार्यालयका कावा वडाध्यक्ष अनिता कुमारी बुढाथोकीले वडा समितिको निर्णय अनुसार वडा नं. १५ कै सुनिता मगरलाई कार्यालय सहयोगीमा नियुक्त गर्न नगरपालिकालाई सिफारीस गरेकी थिईन । तर नगरपालिकाले उक्त सिफारीसलाई व्यवास्ता गर्दै गैरवडावासीलाई जवरजस्ती नियुक्ती दिएपछि विवाद बाहिरीएको हो ।

कुनै पनि कर्मचारी नियुक्ति गर्दा सार्वजनिक सूचना प्रकाशित गरि प्रतिस्पर्धाको आधारमा नियुक्ति गरिन्छ तर, सबै प्रक्रिया र विधि पद्धतिलाई चुनौति दिदै रातारात कर्मचारी नियुक्ति गर्नुले कोहलपुर नगरपालिकाको सुशानको अवस्था कस्तो छ भन्ने कुरा प्रष्ट भएको नेपाली काँग्रेस कोहलपुर नगर सचिब भुम भण्डारीले बताए ।

१५ नं. वडा कार्यालयले थप कर्मचारीको आवश्यक्ता नपरेको प्रतिक्रिया दिएपछि अहिले नगर स्वास्थ्य कार्यालयमा कार्यरत एक जना कार्यालय सहयोगीलाई वडा कार्यालययमा पठाउने र नयाँ कर्मचारी बि.क.लाई नगर स्वास्थ्य कार्यालयमा राख्ने तयारी भैरहेको नगरपालिका स्रोतले जानकारी दियो ।

कोहलपुर नगरपालिकाका निमिक्त प्रमुख प्रशासकिय अधिकृत अनन्त पौडेलले बि.क.लाई करारमा नभएर दैनिक ज्यालादारीमा नियुक्ति गरेको स्वीकार गरे । ज्यालादारीमा नियुक्ति पाएकी उनलाई स्वास्थ्यमा जिम्मेवारी तोकिएको समेत बताए ।

यस विषयमा बुझ्दा नगर प्रमुख लुट बहादुर रावतले तत्कालकालागि कर्मचारी आवश्यक देखिएकाले दैनिक ज्यालादारीमा एक जना कर्मचारी नियुक्त गरीएको बताए । उनले खाली रहेको दरबन्दीमा कर्मचारी नियुक्त गर्ने प्रक्रिया लामो हुने भएकाले उक्त प्रक्रियाबाट नयाँ कर्मचारी नआउँदासम्म स्थानिय एक महिलालाई दैनिक ज्यालादारीमा काम गराउन वडा कार्यालयलाई आग्रह गरीएको उल्लेख गरे । नगर प्रमुख रावतका अनुसार प्रमुख प्रशासकिय अधिकृत नआईसकेकाले तत्काल रिक्त दरबन्दीकालागि प्रक्रिया अगाडी बढाउन नसकिएको भन्दै छिट्टै प्रक्रियागत रुपमै कर्मचारी भर्ना गरीने दाबी गरे ।

  • १ श्रावण २०७८, शुक्रबार १७:१४ प्रकाशित
  • Nabintech