जनता समाजवादी पार्टी (जसपा) को बालकुमारीस्थित पार्टी कार्यालयबाट अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतोको नेम प्लेट हटाइएको छ । दुई अध्यक्षहरू महन्थ ठाकुर र उपेन्द्र यादवबीच चुलिएको विवादका कारण जसपा विभाजनको तहमा पुगेको बेला दुई शीर्ष नेताको नेम प्लेट हटाइएको हो ।
पार्टी एकतापछि बनेको बालकुमारीस्थित पार्टी कार्यालयमा ठाकुर र महतो बस्ने कोठा बाहिर रहेको नेम प्लेट हटाइएको छ । कार्यालयको भुईँ तल्लामा ठाकुरको कार्यकक्ष छ भने पहिलो तल्लामा संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईको कार्यकक्षको विपरीत कोठामा महतोको कार्यकक्ष छ ।
अन्य सबै नेताहरूको कार्यकक्ष बाहिर नेम प्लेट यथावत् रहे पनि ठाकुर र महतोको हटाइएको छ । कार्यालयको दोस्रो तल्लामा अध्यक्ष उपेन्द्र यादव र कार्यकारिणी सदस्य अशोक राईको कार्यकक्ष छ । दुवै नेता बस्ने कोठा बाहिर उनीहरूको नेम प्लेट यथावत् छ । यसै गरी पहिलो तल्लामा सङ्घीय परिषद् अध्यक्ष भट्टराई र नेता महेन्द्रराय यादवको कार्यकक्षमा नेम प्लेट यथावत् रहेको छ ।
पार्टीमा विवाद सुरु भएपछि ती नेम प्लेट हटाइएको जसपाका एक नेताले बताए । ‘उहाँहरू आउन छोड्नु भएको छ । कहिल्यै यता आउनु हुँदैन,’ ती नेताले भने, ‘पाटीभित्र विवाद पनि भइरहेको छ । उहाँहरू आउन पनि छोड्नु भएको । कार्यकर्ताहरूले नेम प्लटे हटाइ दिएका छन् ।’
राजपा र समाजवादी पार्टी एकीकरण पूर्व बालकुमारीमा समाजवादी पार्टीको कार्यालय सञ्चालन हुँदै आएको थियो । दुवै पार्टीको एकीकरणपश्चात् बालकुमारीमै जसपाको कार्यालय कायम गरिएको थियो । पछिल्लो समय पार्टीभित्र विवाद चुलिएपछि अध्यक्ष ठाकुर बबरमहलस्थित पूर्वराजपाको पार्टी कार्यालयबाट पार्टी गतिविधि सञ्चालन गर्दै आइरहेका छन् ।
१८ असार २०७८, शुक्रबार १७:१३ प्रकाशित