नगरपालिकामा चरम बेथिति देखिएको भन्दै नेपाली काँग्रेस कोहलपुर नगर समितीले बाँकेको कोहलपुर नगरपालिकामा तालाबन्दी गरेको छ । आईतबार नगरपालिका घेराउ गर्न गएका नेपाली काँग्रेसका नेता कार्यकर्ताहरुले प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्ष तथा लेखा शाखामा तालाबन्दी गरेका हुन ।
कोहलपुर नगरपालिका भित्रको आर्थिक आपारदर्शिता अन्त्य, अनियंत्रित र अनियमित बेरुजु अन्त्य, आवश्यकता भन्दा बाहिरबाट गरिने डि.पि.आर. बन्द, नियमित सार्वजनिक सुनुवाई, नगरका सबै नागरिकलाई कोरोना खोपको उपलब्धता लगाएतका माग राखी नगरपालिकामा तालाबन्दी गरीएको नेपाली काँग्रेस कोहलपुर नगर समितीका सचिव भुम भण्डारीले जानकारी दिए ।
आईतबार एक विज्ञप्ती जारी गर्दै सचिव भण्डारीले कोहलपुर नगरपालिकाको ९ औं नगरसभाबाट संसोधन सहित निति तथा कार्यक्रम पास भएपछि बजेट प्रस्तुत गर्ने क्रममा नगरसभा संचालन विधि विधान निती कार्यविधि बिपरीत प्रक्रियासम्वत नभई अलोकतान्त्रीक चरित्र ब्यवहार देखाउने, बहुमतको गलत प्रयोग गर्ने कार्यप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएका छन ।
आईतबार नगरपालिका घेराउपछि गरीएको तालाबन्दीलाई आफुहरुको माग पुरा नभएसम्म निरन्तरता दिने बताउँदै भण्डारीले निति कार्यक्रम तथा योजना बिहिन बजेटले अनिमियतता र दुरुपयोग बढाउने भएकाले तत्काल सच्याएर सर्वसम्मत पास भएको निति कार्यक्रम अनुसार बजेट प्रस्तुत गर्न माग समेत गरेका छन ।
दुई दिनअघि कोहलपुर नगरपालिकाले एक अर्ब १७ करोड ३५ लाखको बजेट ल्याएको थियो । नगरपालिकाभित्र भ्रष्टाचार मौलाएको, एमालेले एक पक्षीयरुपमा आर्थिक बर्ष २०७८/०७९ को बजेट, नीति तथा कार्यक्रम ल्याएको भन्दै काँग्रेस तथा माओवादीबाट निर्वाचित उपमेयर, वडाध्यक्ष र सदस्यहरुले नगरसभा बहिष्कार गरेपनि एमालेबाट निर्वाचित सदस्यहरुले बजेट पारित गरेपछि बढेको बिवाद उत्कर्षमा पुगेको हो ।
उक्त बजेटप्रति काँग्रेस र माओवादीबाट निर्वाचित उपमेयर, वडाध्यक्ष र सदस्यहरुले असन्तुष्टि जनाएका छन् । उनीहरुले नगरपालिकामा भइरहेको भ्रष्टाचार रोक्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई आग्रह समेत गरेका छन् ।
यद्यपी नगरपालिकाका मेयर लुट बहादुर रावतले नितिसम्वत रुपमा बजेट ल्याईएको र नगर सभा समेत सम्पन्न भईसकेको प्रतिक्रिया दिएका छन ।
१३ असार २०७८, आईतवार १७:५९ प्रकाशित