नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमालेका अध्यक्ष केपी ओली र वरिष्ठ नेता माधव नेपाल सँगै रहन नसक्ने जिकिर गरेका छन् ।
सोमबार पत्नी सीता दाहाललाई लिएर चितवन जानेक्रममा धादिङको बेनीघाट रोराङ गाउँपालिकामा स्थानीय नेता कार्यकर्तासँग कुराकानी गर्दै उनले उक्त जिकिर गरेका हुन् ।
विशालटार झरेका प्रचण्डले गाउँपालिका अध्यक्ष पित्तबहादुर डल्लाकोटी, पूर्व जनमुक्ति सेनालगायतसँग संवाद गरेका थिए । उनले कार्यकर्ताहरुसँग गफिनेक्रममा असंवैधानिकरुपमा केपी ओलीले नियुक्त गरेका २१ जना मन्त्रीहरुको पद खारेज हुने सूचना आफूले पाएको खुलासा पनि गरे ।
प्रचण्डले ओली प्रवृत्ति चुरे प्रकरणदेखि नागरिकता विधेयकसम्म आउँदा डाउन भइसकेको बताउँदै ओलीको तीव्र आलोचना गरे ।
उनले जेठ २ गते फर्कन सहमत भए पनि ओलीसँग वरिष्ठ नेता माधव नेपाल सँगै रहन नसक्ने जिकिर पनि गरे । ‘हिजो मात्रै माधवजीसहित हामी विपक्षी गठबन्धनका शीर्ष नेताहरु बस्यौं, उहाँले संविधानको रक्षार्थ पनि ओलीसँग रहन नसक्ने बताउनुभयो,’ प्रचण्डले भने ।
उनले अगाडि थपे, ‘माधवजीहरु संसद पुनःस्थापना हुनासाथ नाम जे रहे पनि नयाँ पार्टी खोल्ने तयारीमा हुनुहुन्छ र तमाम एमाले नेता कार्यकर्ता माधवजीसँगै आउनुहुनेछ ।’
स्थानीय नेता कार्यकर्तासँग झण्डै आधा घण्टा बिताएका प्रचण्डले ओलीलाई देशद्रोहीको संज्ञा दिए । ‘आम पार्टी पंक्तिले बुझ्नुहोला, चुनाव गर्न मिति घोषणा गरेका होइनन्, यो त ओलीको चाल मात्रै हो,’ उनले भने, ‘संसद पुनःस्थापना हुन्छ, शेरबहादुर देउवा गठबन्धनको तर्फबाट प्रधानमन्त्री बन्नुहुनेछ ।’
७ असार २०७८, सोमबार १८:२७ प्रकाशित