मटेहियामा प्रहरी कार्यालय भवनको शिलान्यास
  • काँचुली खबर

बाढीले डुबानमा परेपछि केही वर्ष अघि नरैनापुरको मटेहियामा सारिएको ईलाका प्रहरी कार्यालय भोजभगवानपुरको कार्यालय भवन सोही स्थानमा निर्माण शुरु गरिएको छ ।

ईलाका प्रहरी कार्यालयको अत्याधुनिक भवन निर्माणको शनिवार एक समारोहमा बाँकेका प्रमुख जिल्ला अधिकारी शिवराम गेलाल र प्रहरी प्रमुख एसपी ओम रानाले शिलान्यास गरेका छन ।

प्रहरी भवन शिलान्यास कार्यक्रममा बोल्दै बाँके क्षेत्र नं. १ का संघीय सांसद महेश्वर गहतराज अथकले जनताको सुरक्षा गर्ने प्रहरी पहिले आफु सुरक्षित हुनुपर्ने आवश्यक रहेको जनाउँदै यो भवन निर्माणपछि सुरक्षाकर्मीको सुरक्षा हुने बताए ।

उनले विकास निर्माण बढेपछि सुरक्षा थ्रेट समेत बृद्धि हुने हुँदा विकास निर्माणसँगै सुरक्षा निकायलाई पनि साधनश्रोत सम्पन्न गराउनु पर्ने बताए ।

सोही क्षेत्रकी प्रदेश सांसद कृष्ण केसी नमुनाले आफु लगायत यस क्षेत्रका सांसदहरुले यो भवन निर्माणका लागि ठुलो दुख र परिश्रम गरेर बजेट ल्याउन सफल भएको बताईन ।

बाँकेका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले अब नरैनापुर पहिलेजस्तो दुर्गम नरहेको प्रष्ट पार्दै अब यो क्षेत्रमा उद्योग, कलकारखाना, कृषि र अन्य व्यवसया पनि फस्टाउनु पर्नेमा जोड दिए । उनले ईलाका प्रशासन कार्यालयलाई पनि छिटो भन्दा छिटो नरैनापुरमै ल्याइने बताए ।

बाँकेका प्रहरी प्रमुख एसपी ओम रानाले भवनको अभावमा प्रहरीलाई काम गर्न निकै समस्या परेकोले यो भवन निर्माणका लागि सहयोग र समर्थन गर्ने सबैप्रति आभार व्यक्त गरे ।

तीन करोड ९ लाख ९५ हजारको लागतमा निर्माण शुरु गरिएको सो भवन निर्माणको ठेक्का श्रीओम बुद्ध/वार्ईएस जेभी निर्माण कम्पनीले लिएको र एक वर्ष भित्र काम पुरा गर्ने गरि निर्माण सम्झौता भएको ईलाका प्रहरी कार्यालय भोजभगवानपुरका प्रमुख प्रहरी निरिक्षक बसन्त गौतमले बताए ।

  • ५ असार २०७८, शनिबार १९:४६ प्रकाशित
  • Nabintech