कोरोना महामारीका कारण ज्यान गुमाएकाहरुको निशुल्क शव व्यवस्थान गर्दै आएको माओवादी केन्द्र कोहलपुरले बुधबार थप एक जनाको शव ब्यवस्थापन गरेको छ । महामारीका कारण ज्यान गुमाएका कोहलपुर र बाहिरी जिल्लाका ब्यक्तिहरुको शव नि:शुल्क व्यवस्थापन गर्दै आएको माओवादी केन्द्र कोहलपुर नगर सचिव एवं शव व्यवस्थापन समितिका संयोजक बल बहादुर खड्का अबिरलले जानकारी दिए ।
डेढ महिना देखि जारी शव व्यवस्थापन अभियानमा हालसम्म कोहलपुर र बाहिरी जिल्लाका गरी दर्जन बढि शवहरु व्यवस्थापन गरिसकेको खड्काले बताए ।
कोरोनाका कारण मृत्यु भएकाहरुको शव गृह जिल्लामा लैजान समस्या हुने भएकाले कोहलपुर नगरपालिका वडा नं. ११ को डुडुवा खोलामा व्यवस्थापन गर्दै आएको संयोजक खड्काले जानकारी दिए ।
शव व्यवस्थापनका लागि आवश्यक काठ लागायत अन्य समाग्री पनि पार्टीका तर्फबाट व्यवस्थापन गर्ने गरिएको खड्काले बताए । कोरोनाका समयमा मलामीको सँख्या कम हुँदा शव व्यवस्थापनमा कठिनाई हुने कुरालाई मध्यनजर गर्दै पार्टीले निःशुल्क र स्वयंसेवक परिचालन गरेर शव व्यवस्थापन गर्दै आएको माओवादी केन्द्रका युवा नेता नरेन्द्र न्यौपानेले जानकारी दिए ।
२ असार २०७८, बुधबार १९:३० प्रकाशित