कार्यकर्तालाई बाढीपीडितको राहत र उद्धारमा खटिन प्रचण्डको निर्देशन
  • काँचुली खबर

नेपाल कम्युनिष्ट पार्टी(माओवादी केन्द्र)को अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ले आफ्नो पार्टीको नेता कार्यकर्ताहरुलाई बाढीपीडितहरुको राहत र उद्धारमा खटिन निर्देशन दिएको छ ।

केही दिन यतादेखि परिरहेको अविरल वर्षाको कारण विभिन्न जिल्लामा गएको बाढी पहिरोबाट पीडितको लागि राहत तथा उद्धार गर्न आ–आफ्नो ठाउँबाट लाग्न निर्देशन गरेको हो ।

विज्ञप्तिमा भनिएको छ, ‘यस महाविपत्मा राहत र उद्धार कार्यमा आ–आफ्ना क्षेत्रबाट जुट्न पार्टीका नेता तथा कार्यकर्ताहरु निर्देशन गर्दछु । राहत र उद्धार कार्यमा जुटिरहेका सुरक्षाकर्मी, समाजसेवी र अन्य स्वयंसेवी जनसमुदायहरुको सक्रियताप्रति धन्यवाद ज्ञापन गर्दछु ।’

साथै उनले हरेक वर्षा तराईमा डुवान र पहाडमा बाढी पहिरोको क्षति हुने कारणको पनि पहिचान गरेर दीर्घकालिन समाधान खोज्न आग्रह गरिका छन् ।

प्रचण्डले यो विपत्को समयमा निरन्तर खटिने सेना, प्रहरीहरुलाई धन्यवाद पनि दिएको छ ।

प्रेस विज्ञप्ति

केही दिन अघिदेखि परेको अविरल बर्षासँगै देशका विभिन्न भागहरुमा बाढी र पहिरोका कारण भएको धनजनको क्षतिप्रति दुःख व्यक्त गर्दछु । बाढी र पहिरोमा परी निधन हुनुभएकाहरुमा श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारजनमा गहिरो समवेदना प्रकट गर्दछु । घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै बाढी र पहिरोमा परी हराई रहेकाहरुको यथाशीघ्र खोजी गर्न सरकारसँग आग्रह गर्दछु ।

बाढी–पहिरोले सिन्धुपाल्चोक, मनाङ लगायत देशका विभिन्न भागहरुमा धनजनको ठूलो क्षति भएको छ भने कोशी, नारायणी, सेती, कमला, तिनाउ, कर्णाली, महाकाली लगायतका नदीहरुमा पानीको बहाव उच्च भई बस्तीहरु डुब्ने खतरा पैदा भएको छ ।

मौसमविद्हरुको पूर्वानुमानको ख्याल नगरी र विगतका प्राकृतिक प्रकोप न्यूनीकरण र रोकथामका उपायहरुको अनुभव समेतको वेवास्ता गर्ने सरकारी रबैयाका कारण धनजनको यति ठूलो क्षति भएको हो ।

हरेक वर्ष वर्षायाममा तराई मधेस डुब्ने र पहाडी भू–भागमा पहिरो जाने समस्याको दीर्घकालिन हलका लागि केन्द्र, प्रदेश र स्थानीय सरकारको ध्यानाकर्षण गराउँदै तत्काल उद्धार र राहत कार्य प्रभावकारी बनाउन सरकारसँग विशेष आग्रह गर्दछु ।

यस महाविपत्मा राहत र उद्धार कार्यमा आ–आफ्ना क्षेत्रबाट जुट्न पार्टीका नेता तथा कार्यकर्ताहरु निर्देशन गर्दछु । राहत र उद्धार कार्यमा जुटिरहेका सुरक्षाकर्मी, समाजसेवी र अन्य स्वयंसेवी जनसमुदायहरुको सक्रियताप्रति धन्यवाद ज्ञापन गर्दछु ।

बाढीपहिरोमा परी ज्यान गुमाउनुभएका परिवारलाई उचित क्षतिपूर्ति, बेपत्ताहरुको खोजी र घाइतेहरुको निःशुल्क स्वास्थ्योपचारका लागि सम्बन्धित सबैमा हार्दिक अनुरोध गर्दछु ।
०२ असार, २०७८

पुष्पकमल दाहाल ‘प्रचण्ड’
अध्यक्ष

  • २ असार २०७८, बुधबार १२:५९ प्रकाशित
  • Nabintech