महासेठ दम्पत्ती : ओली सरकारमा पालैपालो मन्त्री
  • काँचुली खबर

प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वका सरकारमा रघुवीर महासेठ दोस्रो पटक मन्त्री बनेका छन् । धुनषा-४ का सांसद महासेठलाई उपप्रधानमन्त्रीसहित परराष्ट्र मन्त्रालयको महत्वपूर्ण जिम्मेवारी दिइएको छ ।

महासेठ मन्त्रिपरिषदमा सहभागी हुँदा प्रदीप ज्ञवाली भने पदमुक्त भएका छन् । ३ फागुन २०७४ को ओली प्रधानमन्त्री बनेपछि ज्ञवाली परराष्ट्र मन्त्री बनेका थिए । प्रधानमन्त्रीका भरपर्दा मन्त्री रहेका ज्ञवाली नेकपा एमालेभित्र दोस्रो पुस्ताका प्रभावशाली नेता हुन् ।

एमालेभित्र राम्रै पकड रहेका ज्ञवालीलाई प्रधानमन्त्री ओलीले महत्वपूर्ण मन्त्रालयको जिम्मेवारी दिएका थिए । ज्ञवाली परराष्ट्रमन्त्री रहँदा नेपालको नयाँ नक्सा जारी हुने, चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमण लगायत महत्वपूर्ण काम पनि भयो ।

तर ज्ञवालीलाई विदा गरेर परराष्ट्र मन्त्रालयमा महासेठलाई ल्याइएको छ । ज्ञवालीसँगै २०७४ मा मन्त्री बनेका महासेठ भौतिक पूर्वाधार तथा यातायात मन्त्री थिए । प्रधानमन्त्री ओलीले ५ मंसिर २०७६ मा महासेठलाई हटाएर बसन्त नेम्वाङलाई मन्त्री बनाए । तर यसपटक महासेठ उपप्रधानमन्त्री समेत बनेका छन् ।

महासेठ विष्णुप्रसाद पौडेल पछिको वरियतामा उपप्रधानमन्त्री बनेका छन् । एमालेभित्र वामदेव गौतम निकट भनेर चिनिने महासेठ गुट फेर्दै २०७४ मा मन्त्री बनेका थिए । तर कार्यसम्पादन चित्त नबुझेको भन्दै प्रधानमन्त्री ओलीले पदमुक्त गरेका थिए ।

तिनै महासेठले यसपटक परराष्ट्र जस्तो महत्वपूर्ण भूमिका पाएका छन् । यसपटक पनि महासेठले पुरानै शैली अपनाए । गएको ५ पुसमा साविकको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) विभाजित हुँदा महासेठ ओली इतर समूहतिर उभिएका थिए ।

एमालेका वरिष्ठ नेता माधवकुमार नेपालसँग नजिक हुँदै ओली इतर केही कार्यक्रममा समेत सहभागी भए । तर केही दिनमै फेरि बालुवाटारतिर नजिक भए । ओलीलाई साथ दिए बापत गएको १० पुसमा महासेठकी पत्नी जुली महतो मन्त्री बनिन् ।

एमालेका समानुपातिक सांसद महतो महिला, बालबालिका तथा समाज कल्याण मन्त्रीको जिम्मेवारी पाएकी थिइन् । तर महतो पाँच महिनापछि पदमुक्त भएकी छन् ।

अर्थात् ओली नेतृत्वको सरकारमा महासेठ-महतो दम्पत्ति आलोपालो मन्त्री बनेका छन् । लामो समय एमालेमा वामदेव गौतमसँग रहेका महासेठ २०७१ साउनमा सम्पन्न नवौं सचिव पदका उम्मेदवार थिए । केपी शर्मा ओलीको प्यानलबाट सचिव लडेका महासेठ केन्द्रीय सदस्यमा समेत पराजित भए ।

एमालेमा पदाधिकारीको उम्मेदवार हुनेले केन्द्रीय सदस्यमा समेत लड्न पाउने व्यवस्था छ । यदि, पदाधिकारी पराजित भए केन्द्रीय कमिटीबाट नबाहिरिउन् भन्ने उद्देश्यसहित दोहोरो उम्मेदवारीको व्यवस्था गरिएको थियो ।

तर महासेठ दुवै पदबाट पराजित भएका थिए । महासेठ २०५४ मा एमाले विभाजन भएपछि मालेको केन्द्रीय सदस्य बनेका थिए । एमालेको २०५९ को सातौ महाधिवेशनबाट महासेठ केन्द्रीय सदस्य बने । आठौंमा भने केन्द्रीय सदस्य पराजित भएका थिए । त्यसबेला ओली इतर समूहबाट उनको उम्मेदवारी थियो ।

  • २१ जेष्ठ २०७८, शुक्रबार २२:०५ प्रकाशित
  • Nabintech