प्युठानको मल्लरानी गाउँपालिकाले समुदायस्तरमै कोरोना परीक्षण सुरु गरेको छ । यसअघि खलंगा प्राथमिक स्वास्थ्य केन्द्रमा मात्रै स्वाब संकलन गरी कोरोना परिक्षण गर्दै आएको पालिकाले अब भने समुदायस्तरमै पुगेर संक्रमित खोज्न थालेको हो ।
परीक्षणलाई सहज बनाउन र टोलस्तरको तत्कालीन अवस्था थाहा पाउँन समुदायस्तरमै परीक्षण थालिएको मल्लरानी गाउँपालिका स्वास्थ्य शाखा प्रमुख पारस शाहीले बताए । ‘संक्रमणको ‘चेन ब्रेक’ गर्नका लागि पनि हामी समुदायस्तरमा केन्द्रित हुँदैछौं ।’ उनले भने ।
बुधबार १ नम्बर वडाको चुँजा सोलथुमको बस्तीमा परिक्षण गर्दा ९ जना संक्रमित भेटिएको शाहीले जानकारी दिए । २८ जनामा गरिएको परिक्षणमा एकजना स्वास्थ्यकर्मी सहित ९ जनामा कोरोना संक्रमण देखिएको उनले जानकारी दिए । ‘बुधबार भेटिएका संक्रमितसँगै समुदायमा संक्रमित छन भन्ने पुष्टि हुन्छ ।’ उनले भने ।
शाहीले आफ्नो टोल बस्तीमा कोरोनासङ्ग मिल्दा जुल्दा लक्षण चिन्हहरु देखिएमा यथाशिघ्र स्वास्थ्य शाखालाई खबर गरिदिन सम्बन्धित सबै सरोकारवालाहरुलाई आग्रह समेत गरेका छन । ‘पहिला परिक्षणका लागि आवश्यक पर्ने किटको अभावले गर्दा परिक्षणको दायरा फाराकिलो गराउन सकेका थिएनौ, अब भने किटको समस्या छैन ।’ उनले भने – ‘चिन्ह लक्षण देखिएका समुदायका टोल बस्तीमै पुगेर हामी परिक्षणको दायरा बढाई संक्रमणको ‘चेन ब्रेक’ गर्छौं ।’
कोरोनाको दोश्रो लहर शुरु भएयता गाउँपालिकाले ३३८ जनाको एन्टिजिन बिधीमार्फत कोरोनाको चेकजाँच गरेको छ । जसमध्ये, १६८ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य प्रमुख शाहीले बताए । उनका अनुसार, संक्रमितमध्ये १२६ जना निको भएर डिस्चार्ज भैसकेका छन भने ४ जनाको मृत्यु भएको छ । पालिकामा जेठ १९ गतेसम्म ३८ जना सक्रिय संक्रमितहरु रहेको शाहीले बताए ।
जिल्लाका धेरैजसो स्थानका बासिन्दामा अहिले कोरोनासँग मिल्दा जुल्दा लक्षण चिन्हहरु देखिएका छन । कोरोना परिक्षण गराउने केन्द्र वा स्वास्थ्य संस्थासम्म पुगेर जाँच गराउन उनिहरुको पहुँच पुगेको देखिदैन । तसर्थ जिल्लाका सम्पुर्ण पालिकाले त्यस्ता स्थानहरुको पहिचान गरेर सोही ठाउँमा कोरोना चेकजाँच गर्ने व्यवस्था मिलाउनका लागि पहल गर्न जरुरी देखिन्छ ।
२० जेष्ठ २०७८, बिहीबार ११:२६ प्रकाशित