पासको दुरुपयोग गर्दै दोब्बर भाडा उठाउने २ सवारी साधन र चालक कारबाहीमा
  • काँचुली खबर

कोहलपुर प्रहरीले पासको दुरुपयोग गर्दै यात्रुबाट दोब्बर भाडा उठाउने २ सवारी साधन र त्यसका चालकलाई नियन्त्रणमा लिई कारबाही गरेको छ ।

बुधबार कोहलपुर नगरपालिका ११, कोहलपुर चौराहाको पश्चिमबाट यातायात समितिमा काम गर्ने बिचौलियाको सहयोगमा यात्रुहरुबाट चलनचल्तीको भन्दा दोब्बर भाडा उठाउने एउटा बोलेरो जीप र एउटा फोर्स गाडीसहित चालकहरु लाई नियन्त्रणमा लिई कारबाही गरिएको इलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ ।

कोहलपुरदेखी सुर्खेत सम्मको ३ सय रुपैयाँ भाडा पर्नेमा ७ सय उठाएको र कोहलपुरदेखि जाजरकोट सम्मको ६ सय रुपैयाँ भाडा पर्नेमा १ हजार ४ सय रुपैयाँ उठाई कालो बजारी गरेको पाइएकोले बा ५ ख ५९९५ नम्बरको फोर्स गाडी र त्यसका चालक प्रेम बिक र भे १ च ९२९ नम्बरको बोलेरो जीप र त्यसका चालक मोहन बिकलाई नियन्त्रणमा लिई कारबाही गरिएको प्रहरीले जनाएको छ ।

उनिहरुले नेपालगन्ज उपमहानगरपालिकाबाट जारी गरिएको पासको दुरुपयोग गरेको कोहलपुर प्रहरीले जनाएको छ । निषेधाज्ञाको समयमा अत्यावश्यक कामको लागि आवत जावत गर्नका लागि बनाइएको पासको दुरुपयोग भएको हो ।

त्यसैगरी, निषेधाज्ञाको अटेर गरी पसल संचालन गरेका कोहलपुरका चार जना व्यवसायी र अनावश्यक रुपमा सडकमा हिडडुल गरेका २४ वटा अटो रिक्सालाई नियन्त्रणमा लिएर अब उप्रान्त निषेधाज्ञाको पालना गर्ने गरी कोभिड १९ सम्बन्धि सचेतना गराई छोडिएको प्रहरीले जनाएको छ ।

  • १९ जेष्ठ २०७८, बुधबार २१:२५ प्रकाशित
  • Nabintech