कोरोना महामारीको क्रम चलिरहेकै बेला अहिले ब्ल्याक फंगस अर्थात् कालो ढुसीबाट हुने म्युकरमाइकोसिस नामक रोगको अस्तित्व देखिन थालेको छ । यसले केहीलाई थला पारेको छ भने केहीको ज्यानसमेत लिइसकेको छ ।
यही ब्ल्याक फंगस संक्रमणबाट वीरगन्जमा तीन जनाको मृत्यु भएको छ । पाँच जनालाई थप उपचारका लागि भारत पठाइएको नारायणी अस्पतालका चिकित्सक डा। नीरज सिंहले बताए ।
देशभरकै तथ्यांक अनुसार पहिलो पटक वीरगञ्जमा ८ जनामा यसको संक्रमण भेटिएको हो । यो रोगको उपचार नेपालमा सम्भव नभएको डा। सिंहले बताए । यही कारण ५ जनालाई उपचारका लागि भारत पठाएको उनले बताए ।
डा। सिंहले करिब एक महिनाअघि वीरगन्जकै एडभान्स अस्पतालमा उपचारका लागि आएकी वीरगन्ज–२७ अलौंकी ६५ वर्षीया महिलामा पहिलो पटक ब्ल्याक फंगसको संक्रमण पुष्टि भएको बताए । ‘सम्भवतः नेपालमै ब्ल्याक फंगसको संक्रमण भेटिएको पहिलो केस नै त्यही हो’, उनले भने, ‘मैले सकेको उपचार त गरेँ । तर, ती महिलालाई बचाउन सकिएन । त्यसपछि दोस्रो केस बारा घर भई उपचारका लागि वीरगञ्ज आएका ५५ वर्षीय पुरुषमा पनि देखिएको थियो ।’
ती ५५ वर्षीय पुरुषलाई काठमाडौं पठाइएको दोस्रो दिनमै जेठ ३ गते उनको मृत्यु भएको उनले बताए । उनले भने, ‘आठमध्ये दुई जनाको त ल्याबबाटै पुष्टि भएको छ । बाँकी ६ जनाको भने लक्षणका आधारमा क्लिनिकल्ली ब्ल्याक फंगसको संक्रमण भएको हाम्रो ठम्याइ छ ।’ त्यस्तै, वीरगन्ज–१३ का ६७ वर्षीय पुरुषको वैशाख ३० गते निधन भएको थियो ।
वीरगन्जमा आठ जनाबाहेक अहिले अरू कुनै पनि संक्रमित वा व्यक्तिमा ब्ल्याक फंगसको संक्रमण नदेखिएको डा। सिंहले बताए । उनका अनुसार कोरोना संक्रमित व्यक्तिमा कोरोना लक्षण देखिएको १२ देखि २० दिनको अवधिमा ब्ल्याक फंगसको संक्रमण देखापर्ने गरेको छ ।
वीरगञ्जमा ब्ल्याक फंगसको संक्रमण देखिएका आठै जना कोभिडबाट निको भइसकेकाहरूमा पाइएको उनको भनाइ छ । उनले नेपाल र भारतमा कोरोना संक्रमितमा देखापरिरहेको ब्ल्याक फंगस मानिसबाट मानिसमा सर्ने रोग भने नभएको बताए । उनले भने, ‘अहिलेसम्मको अनुशन्धानका आधारमा ब्ल्याक फंगस हावा र माटोबाट सर्ने संक्रमण भएको पाइएको छ ।’
स्टेरोइड्स र एन्बिायोटिक औषधि सेवन गरेका तथा अक्सिजन लिएका अधिकांश कोरोना संक्रमितमा ब्ल्याक फंगस बढी देखिने गरेको भन्ने तथ्य अहिलेसम्म पुष्टि नभएको उनले बताए। उनका अनुसार अहिलेसम्म कोरोना संक्रमण भएपछि पानीको वाफ लिएकाहरूमै ब्ल्याक फंगसको संक्रमण बढी देखिएको छ ।
१९ जेष्ठ २०७८, बुधबार ०८:१३ प्रकाशित