यसरी बन्यो थवाङमा कम्युनिस्ट पार्टीको संगठन
  • काँचुली खबर

(नेपाली कम्युनिष्ट आन्दोलनको इतिहासमा पहिलो पुस्ताका नेता भनेर चिनिने खगुलाल गुरुङ अहिले १०३ बर्ष पुगे । २००७ सालको राणाविरोधी संघर्षका स्वतन्त्रता सेनानी खगुलाल गुरुङ नेपाल कम्युनिष्ट पार्टी, प्युठानको स्थापना हुँदा २०१० साल मंसिरमा ७ जनामध्ये एक संस्थापक सदस्य र २०१५ सालको आम निर्वाचनमा ८३ नं क्षेत्रबाट नेपाल कम्युनिष्ट पार्टीको तर्फबाट उम्मेदवार समेत रहेका थिए । उनले आफ्नो राजनीतिक जीवनमा भोगेका भोगाईहरुलाई समेटेर आफ्नो ‘राजनीति जीवन यात्रा’ लेखेका छन । जीवन यात्रालाई बिमल पोखरेलले सम्पादन तथा प्रस्तुति गरेका छन । उनको जीवन यात्रालाई हामीले क्रमशः प्रस्तुत गर्ने कोशिस गरेका छौं । – सम्पादक )

प्यूठानमा तीन महिना जेल राखेपछि मोहनविक्रम, म र हेमराजलाई पाल्पा ल्याइयो । नन्दलाल, सिद्धिमान र रुमबहादुरलाई प्यूठानमै राखियो । हामीलाई पाल्पा जेलमा ल्याइएपछि १५ महिना राखियो । पाल्पाको जेलमा बस्दा बन्दीहरुले पाउने सुविधाको माग गरी ३ पटकसम्म आन्दोलन गरियो । हामीलाई जेलमा रासनसमेत दिइएको थिएन । जेलको डिठ्ठा हुमबहादुर हमालले हामीलाई कोर्रा लगायो । अन्तिम संघर्षको बेला थियो, त्यसले साह्रै अचाक्ली ग¥यो । मोहनविक्रमले उसलाई राम्ररी थप्पड हान्नुभयो । त्यसको गाला १५ दिनसम्म सुन्निएको थियो । पाल्पामा गरेको जेल संघर्षको कारणले त्यहाँ त्यतिबेला खैलाबैला मच्चिएको थियो ।

त्यसलाई पिटेपछि हामीलाई फेरि प्यूठान चलान ग¥यो । पाल्पाबाट प्यूठान दाङ हुदै सल्यान पठायो । सल्यान लैजाने क्रममा तिहारको औंसीमा राती बास बसेका थियौं । त्यही जेलयात्राको क्रममा मोहनविक्रमले ‘लेफ्ट राइट कदम बढाऔं, संसारका सारा नौजवान हो’ भन्ने गीत लेख्नुभएको हो । हामीले प्रतिपदाको दिन फलावाङ हुदै नाराहरु घन्काउदै यात्रा गरेका थियौं । बेलुकी सल्यान पु¥याइयो । जेलभित्र धेरै फोहर थियो । हामीले भन्यौं कि भित्र फोहर छ, त्यहाँ हामी बस्दैनौं । बाहिरै दलानमा बस्छौं । सुब्बाले हात जोडेर भन्यो, ‘त्यसो नगरिदिनुस् हजुर, भित्रै बसिदिनुस्’ हामीले मानेनौं । दलानमै बस्यौं । २०१३ साल कार्तिक १४ गते फैसला गरिदियो कि हामी १९ महिने जेलबाट मुक्त भयौं ।

हामी जेलमा हुँदा थवाङका जनतामाथि धेरै अन्याय अत्याचार त्यहाँको प्रशासनले गरेको थियो । जनतामाथि विभिन्न आरोपहरु लगाइएको थियो । त्यहाँका अगुवा कृष्ण र बर्मानहरुलाई जेलमा राखिएको थियो । पुलिस इन्सपेक्टर शेरबहादुर बस्नेत र बडाहाकिमहरुले त्यहाँका जनताको करिब साढे २ लाखका चाँदीका मोहर (पैसा, करिब १२ पाथी) खाइदिएका थिए । फागुन चैत्र थियो । मोहनविक्रम, म र हेमराज तीन जनाले मोहर खोज्न भनी सल्यान हुदै जाजरकोट, मुसीकोट, रुकुम हुदै थवाङमा आयौं । हामीले त्यहाँको मुद्दा मिलायौं । त्यहाँका जनताले हामीलाई आसिर्वाद दिए । उनीहरुले तिमीहरु त भगवान नै रहेछौ भने । शेरबहादुर र बडाहाकिमले त्यहाँका जनतामाथि धेरै अन्याय र अत्याचार गरेका थिए । त्यो मुद्दा मिलाएपछि त्यहाँका जनता कम्युनिस्ट पार्टीमा संगठित भएका हुन् । कम्युनिस्ट पार्टीको निर्माणमा हामीले धेरै मेहनत गरेका थियौं । विशेषतः मोहनविक्रम सिंहको ठूलो योगदान रहेको थियो, त्यहाँको कम्युनिस्ट पार्टी बनाउन । त्यसपछि त्यहाँ कम्युनिस्ट पार्टीको संगठन बलियो भएको थियो । एकप्रकारले त्यहाँ कम्युनिस्ट पार्टीको गढ नै भएको थियो । पञ्चायती व्यवस्था खत्तम भएपछि बर्मान एकताकेन्द्रतिर गए । त्यहाँका सीधासादा जनतालाई वर्गीय चेतना नदिइकनै माओवादीले जनयुद्धको नाममा धोका दिने काम गरे ।

थवाङबाट हिंडेपछि डा. केआइसिंह प्यूठानमा आए भन्ने सुनियो । उनले प्यूठानीहरुलाई विथोल्न खोजेका थिए । हामी तीनजना त्यहाँ नआँउदै उनी गइसकेका रहेछन् । पछि पाल्पामा किसान सम्मेलन भयो । त्यो सम्मेलनमा प्यूठानबाट म, मोहनविक्रम, पदम पुन, टेकबहादुर जीसी गएका थियौं । कम्युनिस्ट पार्टीको दोस्रो महाधिवेशन काठमाडौंमा भयो । त्यो महाधिवेशन २०१४ साल जेठमा भएको हो । त्यो महाधिवेशनमा म, मोहनविक्रम र चेतमान गएका थियौं । २०१५ सालमा संसदीय चुनाव भयो । त्यस चुनावबारे अगाडि नै चर्चा भइसकेको छ । त्यो चुनावमा कांग्रेसले पैसा, रागा र रक्सीले चुनाव जितेको थियो । चुनावमा जिते पनि कांग्रेसले राम्रोसँग शासन गर्न सकेको थिएन । त्यहीबीचमा २०१७ साल पुस १ गते राजा महेन्द्रले संसद् विघटन गरे । बहुदलमाथि प्रतिबन्ध लगाइयो । पञ्चायत आएपछि म प्यूठानमा नै सक्रिय भएँ । तर नारीकोटमा अलि बेग्लै भयो । नारीकोटका जनताले मलाई जसरी पनि पञ्चायतको चुनावमा उठ्नुपर्छ भन्दै उठाए । म गाउँकै शोषितपीडित जनताको पक्षमा थिएँ ।

नारीकोटको चुनाव हुँदाखेरि मतपेटिकाको सिल काटियो । दोहो¥याएर चुनाव गराइयो । तर मलाई जनताले भोट दिए, बहुमतले चुनाव जितें । कम्युनिस्ट पार्टीको नीति पञ्चायती चुनावमा भाग लिने थिएन । तर मलाई स्थानीय जनताले कुनै हालतमा पनि सुख दिएनन् । त्यसरी पञ्चायतको चुनावमा पनि उठ्ने काम भयो । किसानहरुको पक्षमा त्यति ठूलो आन्दोलन गर्दा जनतामा मेरो व्यापक प्रभाव थियो । त्यहीकारणले २०३० सालको चुनावमा मलाई उठ्न बाध्य पारिएको हो । म प्रधानपञ्च भएर पनि जनताकै हकहितको लागि काम गरें । सामन्तहरुको विरोधमै मैले काम गरें । पदमबहादुर उपप्रधानपञ्च उठ्ने कुरा भए पनि उनको एप्लीकेसन नै क्यान्सील भयो । तर सबै समयमा म उठिन । म प्रधानपञ्च नभए पनि किसानका समस्या मैले नै हेर्ने गरेको थिएँ । साहुहरुले लिने मानापाथी, व्याज आदिको सुधार गर्ने काम मैले नै गरेको हुँ । किनभने शोषकहरुले चुस्न मात्रै खोज्थे ।

किसान आन्दोनपछि १८ महिना जेल

२०२५ सालको चुनाव भने मैले लडिन । गाउँका जनताले पञ्चायतमा उठाउने ठेगान गरिसकेका थिए । तर मेरो कुनै विचार थिएन । म भारततिर गएँ । २०२८ सालमा घर आएँ । २०३० सालमा त पञ्चायतको चुनाव आयो । मलाई जुनसुकै हालतमा उठ्नुपर्छ भनेपछि उठें र चुनाव जितें । तर २०३५ सालको चुनावमा भने मलाई जसरी पनि हराउनुपर्छ भनेर प्रहरी प्रशासन, सामन्त, ठालुहरु सबै लागिपरेका थिए । मैले हारें पनि । जनता निरास भए । किनभने मैले जनताकै पक्षमा काम गर्दथें ।

किसान आन्दोलनको विजयको दिन

त्यसपछि भूतपूर्व गोर्खा सैनिक संघको स्थापना गरियो । हाम्रो उद्देश्य यस्तो थियो, मिर्जा खाँको अधिकारमा कपिलवस्तुको शिवपुर भन्ने जंगलमा भूतपूर्व सैनिकहरुलाई बसोबास गराउने । किनभने त्यो भारतीय विस्तारवादसितको नाका पनि थियो । भारतीयहरुले नेपालमाथि हस्तक्षेप गर्न आउँदा उनीहरुसँग लड्ने । त्यस संगठनमा ६५ जिल्लाका ५ हजार पूतपूर्व सैनिकहरु थिए । त्यसमा एकजनाले ५ सय ३५ सम्म जम्मा गरेका थिए । सबैबाट गरी १७ लाख ५० हजार जम्मा भएको थियो । त्यो रकम खान र हिनामिना गर्नको लागि दलालहरु जिल्ला जिल्लाका फटाहाहरु र केही भू.पू.हरुसमेत लागिपरेका थिए । उक्त जमीन भूपूहरुलाई बसोबासको लागि सरकारबाट हुकुम प्रमांगी गराइपाउँ भन्ने निवेदन देवेन्द्र जीसीले दिएका थिए । संगठनको सभापतिको हैसियतले उनले त्यो काम गरेका थिए । तर सरकारले ५ हजार भूपूहरुको मागलाई कुनै वास्ता गरेन । तर भूपू संघको एकमतले यो कुराको निर्णय भयो कि शिवपुरको जंगल मिर्जा खाँको अधिकारमा भएको जमीनमा झुपडी बनाई बसोबास गराउने काम २०४३ सालमा गर्न थालियो । तर तौलिहवाबाट प्रहरी र फरेस्टरहरु ठूलो दलबलसहित आए । हामीमाथि दमन गर्न थाले, हतियार ताक्न थाले । गोली हानिहाल्ने कामचाहिं गरेनन् । सामन्तहरु पनि संगसंगै आएका थिए ।

https://kanchulikhabar.com/news/47576

त्यसपछि मलाई गिरफ्तार गरी रेन्जर कार्यालयमा दिनभरि थुनेर राखे । बेलुका ७ बजेतिर तौलिहवामा लगेर थुनियो । यो जेठको कुरा हो । मेरो साथमा भतिजा टीकाबहादुर पनि थिए । हामी बसोबास गर्ने भूपूहरुको बन्चरो, खुकुरी, खुर्पा, कोदालो, फरुवा आदि सबै रेन्जर र प्रहरीले लुटेर लगे । ती सबै सामान २ गाडी भएका थिए । देवेन्द्र जीसीलाई पक्रेपछि मलाई छाडिएको थियो ।

(क्रमशः अर्काे अंकमा)
सम्पादन/प्रस्तुतिः विमल पोखरेल

https://kanchulikhabar.com/news/47296

  • १८ जेष्ठ २०७८, मंगलवार ०७:५२ प्रकाशित
  • Nabintech