नेपाल समूहमै फर्किए योगेश र गोकर्ण
  • काँचुली खबर

नेकपा एमालेका स्थायी कमिटी सदस्यहरु योगेश भट्टराई र गोकर्ण विष्टले आफूलाई पुनः पार्टी अध्यक्ष केपी शर्मा ओलीविरुद्धको मोर्चामा उभ्याएका छन् । बुधबार माधवकुमार नेपाल तथा झलनाथ खनाल सहित १५ स्थायी कमिटी सदस्य (दुई पदेन सदस्यसहित) ले जारी गरेको विज्ञप्तिमा उनीहरुको समेत नाम समावेश छ ।

पछिल्ला केही दिन उनीहरु दुवै समूहतिर नखुली मौन बसेका थिए । प्रधानमन्त्रीमा शेरबहादुर देउवालाई प्रस्ताव गर्दा नेपाल पक्षका अन्य सांसदले हस्ताक्षर गरेको भएता पनि भट्टराईले गरेका थिएनन् । बरु उनले ‘राजनीतिक जीवनकै सबैभन्दा कठिन दिन’ भन्दै ट्विटरमा प्रतिक्रिया लेखेका थिए । ‘नेकपा एमालेको एकतालाई जोगाउन सकिन्छ कि भन्ने आशाले मैले आजको निर्णय लिएको हुँ । सही गरेँ कि गलत गरेँ, इतिहासको कठोर मूल्यांकनमा खडा छु,’ गत शुक्रबार उनले भनेका थिए । उनको यो निर्णयपछि उनी ओलीतिर खुलेको भन्दै विश्लेषण भएका थिए ।

राष्ट्रपतिले प्रधानमन्त्रीमा परेका दुवै दाबी अस्वीकार गरेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन गर्दै निर्वाचनको सिफारिस गरेका थिए । त्यसविरुद्ध सर्वोच्च अदालतमा रिट हाल्ने बेला पनि भट्टराईले हस्ताक्षर गरेका थिएनन् । विष्टले पनि हस्ताक्षर गरेका थिएनन् । सर्वोच्चमा नेपाल पक्षका २३ सांसदको मात्रै हस्ताक्षर छ । हस्ताक्षर गर्नेमध्ये ११ जनालाई ओलीले पार्टीको साधारण सदस्यसमेत नरहने गरी निष्कासन गरिसकेका छन् । अन्य १२ जनालाई पनि स्पष्टीकरण सोधेका छन् ।

  • १२ जेष्ठ २०७८, बुधबार १८:५३ प्रकाशित
  • Nabintech