ठूलो परिमाणमा गोली र म्याग्जिन फेला
  • काँचुली खबर

रोल्पामा शनिबार ठूलो परिमाणमा अत्याधुनिक हतियारको गोली र म्याग्जिन फेला परेको छ ।

दक्षिणी रोल्पाको त्रिवेणी गाउँपालिका-२ रामपुरमा रहेको सामुदायिक वनको बाँसघारीबाट सेना र प्रहरीको एक टोलीले गोली र म्याग्जिन बरामद गरेको हो ।

जिल्ला प्रहरी प्रमुख एवं प्रहरी नायव उपरीक्षक नरेशराज सुवेदीका अनुसार बाँसको घरीमा प्लाष्टिकमा पोको पारेर राखिएको अवस्थामा फेला पारिएको हो ।

‘अत्याधुनिक मेसिन गनका गोली र म्याग्जिन बरामद गरेका छौँ’, प्रनाउ सुवेदीले भने, ‘दहवनमा रहेको नेपाली सेना र इलाका प्रहरी कार्यालय होलेरीबाट खटिएको टोलीले हतियारका गोली र म्याग्जिन बरामद गरेको हो ।’

प्रहरीका अनुसार ९ सय ७० थान गोली र २५ वटा म्याग्जिन बरामद गरिएको छ । एके-४७ हतियारको गोली ७ सय ५२ थान, सेभेन-६२ एमएम हतियारको गोली २ सय ८ थान र नाइन एमएम हतियारको गोली १० थान फेला पारिएको हो ।

त्यससँगै एसएमजी गणको म्याग्जिन २३ थान, एम-१६ मा प्रयोग हुने म्याग्जिन १ थान र एलएमजीको म्याग्जिन थान १ छन् ।

गोली र म्याग्जिन बरामद गरिएको आसपासका क्षेत्रमा सेना र प्रहरीको टोलीले थप सर्च गरिरहेको छ । स्थानीयको सूचनाका आधारमा ती सामग्री फेला पारिएका हुन् । त्यस ठाउँमा त्यति ठूलो परिमाणमा गोली र म्याग्जिन कसरी कसले ल्यायो भन्नेबारे अनुसन्धान भइरहेको प्रनाउ सुवेदीले बताए । गोली र म्याग्जिन नयाँ र फ्रेस देखिन्छन् । दस वर्षे युद्धताका छोडिएका जस्ता नभएकाले सुरक्षा अधिकारीले गहिरो अनुसन्धानलाई अघि बढाएका छन् ।

शान्ति प्रक्रियायता बेलाबेला जिल्लाका विभिन्न ठाउँमा हतियार, गोली र बम फेला पर्दै आएका छन् । विगतमा फेला पारिएका हातहतियार युद्धताका छाडिएका हुने गरे पनि अहिले फेला पारिएका गोली र म्याग्जिन नयाँ देखिएको सुरक्षा अधिकारीले जनाएका छन् ।

  • ८ जेष्ठ २०७८, शनिबार २१:५८ प्रकाशित
  • Nabintech