फाइल फोटो
बाँकेमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या बढिरहेको छ । तुलनात्मक रुपमा पछिल्ला केहिदिनमा संक्रमित हुनेको संख्या केही घटे पनि मृत्यु दर भने घटेको छैन ।
हिजो बेलुका ६ बजेदेखि आज बिहान ७ बजेको समय भित्र बाँकेका दुइवटा अस्पतालमा उपचाररत बाँकेसहित अन्य जिल्लाका ८ जना संक्रमितको मृत्यु भएको हो । मृत्यु हुनेमा बाँकेका ३, दाङका २, बर्दियाका १, कैलालीका १ र कंचनपुरका १ जना रहेका छन ।
जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्रका फोकल पर्सन तेज ओलीका अनुसार, नेपालगन्जमा रहेको भेरी अस्पतालमा ४ जना र नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचाररत ४ गरी ८ जना संक्रमितको उपचारका क्रममा मृत्यु भएको हो ।
मृत्यु हुनेमा कोहलपुर नगरपालिका १०, बाँकेका ४४ बर्षिया महिला, कोहलपुरकै ६ नम्बर वडाकी ५२ बर्षिया महिला र नेपालगन्ज ६ का ५० बर्षिय पुरुष रहेका छन ।
त्यसैगरी, तुलसीपुर उपमहानगरपालिका १०, दाङका ५२ बर्षिय पुरुष, लमही नगरपालिका २, दाङकै ६८ बर्षिया महिला, भिमदत्त नगरपालिका २, कंचनपुरका ५४ बर्षिय पुरुष, जोशिपुर गाउँपालिका १, कैलालीका ५० बर्षिय पुरुष र मधुवन नगरपालिका ७, बर्दियाका ५७ बर्षिय पुरुषको मृत्यु भएको फोकल पर्सन ओलीले जानकारी दिए ।
योसँगै कोरोना संक्रमणबाट बाँकेका २७२ जनाको मृत्यु भएको छ भने बाहिरी जिल्लाबाट बाँकेमा उपचार गराउन आई मृत्यु हुनेको संख्या २२७ पुगेको छ ।
८ जेष्ठ २०७८, शनिबार ०९:२० प्रकाशित