फाइल फोटो
बाँकेका दुई अस्पतालमा उपचार गराइरहेका थप ७ जना कोरोना संक्रमित बिरामीहरुको मृत्यु भएको छ । ६ जनाको नेपालगन्जस्थित भेरी अस्पतालमा मृत्यु भएको हो भने १ जनाको नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा मृत्यु भएको हो ।
मृत्यु हुनेहरुमा मधुवन नगरपालिका ९, बर्दियाका ७१ बर्षिय पुरुष, बढैयाताल गाउँपालिका १ बर्दियाका ५० बर्षिय पुरुष, गौरीगङ्गा गाउँपालिका ४, कैलालीका ५२ बर्षिय पुरुष, रुम्टीगढी गाउँपालिका ३, रोल्पाका ३५ बर्षिय पुरुष, बढैयाताल गाउँपालिका २, बर्दियाका ८७ बर्षिय पुरुष, नेपालगन्ज उपमहानगरपालिका १९, का ६० बर्षिय पुरुष र कोहलपुर नगरपालिका १५, का ६७ बर्षिय पुरुष रहेको जिल्ला कोभिड – १९ संकट व्यवस्थापन केन्द्रका फोकल पर्सन तेज ओलीले जानकारी दिए ।
गौरीगङ्गा गाउँपालिका ४, कैलालीका ५२ बर्षिय पुरुषको नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पतालमा मृत्यु भएको हो भने बाँकी ६ जनाको भेरी अस्पताल नेपालगन्जमा मृत्यु भएको हो ।
योसँगै बाँके जिल्लामा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या २ सय ३४ पुगेको छ भने, बाहिरी जिल्लाबाट उपचार गराउन बाँके आई मृत्यु हुनेको संख्या १ सय ८३ पुगेको छ ।
२ जेष्ठ २०७८, आईतवार ०८:११ प्रकाशित