बाँकेमा कोरोना भाइरस संक्रमणका कारण ५ महिने गर्भवतीको मृत्यु भएको छ । ठाकुरबाबा-१ बर्दियाका ३४ वर्षिया गर्भवतीले कोभिड संक्रमणकै कारण ज्यान गुमाएकी हुन ।
बैशाख २२ गते कोरोना भाइरस संक्रमण पुष्टि भएपछि २४ बैशाखमा थप उपचारका लागि भेरी अस्पतालमा भर्ना भएकी ति महिलाको आज जेष्ठ १ गते बिहान २:५८ बजे मृत्यु भएको बर्दियाका कोभिड फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिए ।
यसैबिच बाँकेका अस्पतालमा शुक्रबार रातीदेखी शनिबार बिहानसम्म थप ५ जना कोभिड संक्रमितले ज्यान गुमाएका छन । बाँकेका कोरोना फोकल पर्सन तेज ओलीका अनुसार नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा कोहलपुर नगरपालिका-९ बाँकेका ६१ वर्षिय पुरुष र गुलरिया नगरपालिका-१० बर्दियाका ६० वर्षिय पुरुषको मृत्यु भएको छ ।
त्यस्तै संक्रमित बिरामीहरुको उपचार भैरहेको नेपालगन्ज स्थित भेरी अस्पतालमा नेपालगन्ज उपमहानगरपालिका-१९ बाँकेका ३९ वर्षिय पुरुष र बनागांड कुपिन्डे-४ सल्यानका ६० वर्षिया महिलाको मृत्यु भएको छ । बर्दियाकी ५ महिने गर्भवतीको समेत भेरीमै उपचारका क्रममा मृत्यु भएको हो ।
योसँगै बाँकेमा कोभिड संक्रमणका कारण उपचारका लागि जिल्ला बाहिरबाट आएका १७५ जना र जिल्लाकै २२९ जनाले हालसम्म ज्यान गुमाइसकेका छन ।
१ जेष्ठ २०७८, शनिबार ०९:३४ प्रकाशित