बाँकेमा कोभिड १९ महामारीलाई रोकथाम तथा नियन्त्रण गर्नका लागि स्थानीय प्रशासनले लकडाउन गरेको छ । लकडाउनकै अबधिमा कोरोना संक्रमण हुने दर र मृत्यु हुने दर पनि तिब्र रुपमा बढिरहेको छ ।
यस्तो महामारी र लकडाउनका बिच काठ तस्करहरु भने सक्रिय रहेको पाइएको छ । बाँकेको एउटा सामुदायिक वनमा काटेर राखिएको अबैध सालको गोलिया काठ बेवारिसे अवस्थामा बनको टोलिले नियन्त्रणमा लिएपछि काठ तस्करहरु सक्रिय रहेको पुष्टि भएको हो ।
शुक्रबार दिउँसो राप्तिसोनारी गाउँपालिका वडा नम्बर ६ मा रहेको शिद्दबाबा सामुदायिक वन उपभोक्ता समुहको वनक्षेत्र भित्र काटेर राखिएको अवस्थामा सालको बेवारिसे गोलिया काठ फेला परेको राप्ती सव डिभिजन वन कार्यालयका रेन्जर दिपबहादुर शाहीले जानकारी दिए ।
शाहीका अनुसार उक्त स्थानबाट सालको ११ थान गोलियाको ७० क्युफुट काठ बरामद गरी थप कारवाहीकालागि डिभिजन बन कार्यालय बाँकेमा पठाइएको छ । काठ तस्करी गर्नेहरुको बारेमा सोधखोज तथा खोजी गर्ने कार्य जारी रहेको उनले काँचुली खबरलाई बताए ।
डिभिजन बन कार्यालयका डिभिजनल वन अधिकृत राजु क्षेत्रीले उक्त क्षेत्रबाट बरामद गरिएका ११ थान सालको गोलिया काठ वन कार्यालयमा आइसकेको र छानबिन तथा अनुसन्धान पश्चात् क-कस्को संलग्नता छ भन्ने बारेमा खुल्ने बताए ।
लकडाउनका बेलामा हुने यस्ता तस्करी रोक्नका लागि सम्बन्धित सबै सरोकारवालाहरु चनाखो हुनुपर्ने देखिन्छ ।
३१ बैशाख २०७८, शुक्रबार १९:५४ प्रकाशित