नेपाल पत्रकार महासंघ बाँके शाखाले कोरोना संक्रमित पत्रकारको उपचारमा सघाउने जनाएको छ । विश्वव्यापी रुपमा फैलिएको कोरोना (कोभिड-१९) संक्रमणको दोस्रो लहरले बाँकेमा बिकराल समस्या उत्पन्न गराएको भन्दै महासंघ बाँकेले दैनिक जसो संक्रमण र मृत्युको खबरले सबैलाई स्तब्ध पारेको उल्लेख गरेको छ ।
अध्यक्ष दामोदर भण्डारी र सचिव कमल डाँगीद्धारा आईतबार जारी बिज्ञप्तीमा यस्तो परिस्थितीमा अग्रभागमा रहेर काम गर्ने पत्रकारहरुको स्वास्थ्य सुरक्षाको विषय चुनौतीपूर्ण बनेको उल्लेख गरीएको छ । आम नागरिकलाई सुसुचित गराउनका लागि यो संवेदनशील घडीमा पेशागत कर्म निर्वाहमा जुटेका सबै पत्रकारहरुप्रति कृतज्ञ ब्यक्त गर्दै महासंघले अझ बढी गम्भीर र सचेत हुनु आह्वान समेत गरेको छ ।
कोरोना संक्रमण भई उपचारार्थ सम्पूर्ण पत्रकारहरुको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै महासंघले बाँकेका सम्पुर्ण पत्रकारहरुको जिउज्यानको सुरक्षाको निम्ति नेपाल पत्रकार महासंघ बाँके निकै गम्भीर र चिन्तित् भएको जनाएको छ । कोरोना संक्रमण कसैलाई नहोस् भन्ने कामना गर्दै महासंघले यदि संक्रमण भएमा पत्रकारको उपचारकालागि लागि पर्ने जनाउादै सबैलाई विश्वस्त हुन अनुरोध समेत गरेको छ ।
कोरोनाका बिरामीलाई अक्सिजन अत्यावश्यक पर्ने भएकोले महासंघ बाँके शाखाले जिल्लाका पत्रकारको लागि अक्सिजन तयारी अवस्थामा राखेको समेत जनाएको छ । पत्रकारहरुको उपचारमा सहयोग पुर्याउन महासंघले कुनै कसर बाँकी नराख्ने महासंघको भनाई छ ।
महासंघले यस्तो विषम परिस्थितिमा आफ्नो पेशागत धर्म निर्वाहका क्रममा संवेदनशील भई पूर्वसतर्कताका साथ सम्पूर्ण स्वास्थ्य सुरक्षाका उपाय र मापदण्डहरु अवलम्बन गर्न सबै पत्रकारमा अपील गरेको छ । आइसोलेसन स्थापना गर्ने बारे महासंघले पहिले नै योजना बनाएको भएपनि भेरी अस्पतालका चिकित्सक, जिल्ला प्रशासन कार्यालय सबैसँग सल्लाह र सुझाव लिँदा अक्सिजन सहितको आइसोलेसनमा चिकित्सकको निगरानी हुनु पर्ने नत्र संभव नहुने भएकाले प्राविधिक कारणले महासंघले आइसोलेसन नबनाएको स्पष्ट समेत पारेको छ ।
साथै, महासंघ कोरोना सक्रमणको चुनौतीपूर्ण अवस्थामा फिल्डमा खटिइरहेका पत्रकारहरुका लागि सुलभ तरिकाले पीसिआर परीक्षणलगायत स्वास्थ्य सामग्री, स्वास्थ्य सुरक्षाका व्यवस्था मिलाउनुका साथै आवश्यक सुरक्षा सामग्रीको व्यवस्था गर्न सकारसँग आग्रह गरेको छ ।
कोरोना संक्रमण भई उपचारको आवश्यकता भएका पत्रकारहरुका लागि निःशुल्क उपचारको प्रबन्ध मिलाउन समेत सरकारको ध्यानाकर्षण गराउँदै महासंघले यो विषम परिस्थितीमा बाँकेका सबै पत्रकारहरुको साथमा रहेको र जस्तोसुकै समस्या आइपरे पनि पूर्ण साथ र सहयोग गर्न अग्रसर भइरहने जनाएको छ । कुनै पनि समस्या आइलागे तत्काल महासंघलाई जानकारी गराउन हार्दिक अपील समेत गरीएको छ ।
बाँकेमा प्रेस पास, प्रेस ज्याकेट दुरुपयोग भएकोदेखि पत्रकार आचांरसहिता बिपरितका काम भइरहेका भन्ने गुनासाहरु निरन्तर आइरहेकाले त्यस्ता कार्य नगर्न र नगराउन सबैलाई अनुरोध गरेको छ ।
‘कोरोना महामारीले यहाँ नागरिक अक्सिजन सकिएको भन्दै अस्पतालले भर्ना समेत नलिरहेकोले कुनै पनि नागरिकलाई स्वास्थ्य उपचारबाट बञ्चित नगर्न र उपचारको सम्पुर्ण प्रबन्ध मिलाउन महासंघ बाँके सम्बन्धित निकायसँग आग्रह गर्दछ ।’ विज्ञप्तीमा भनिएको छ, ‘आगामी दिनमा थप जटिल परिस्थिती आउन नदिन सरोकारवाला पक्षलाई गम्भीरतापूर्वक आफ्नो जिम्मेवारी पुरा गरी नागरिकको जीवनरक्षा गर्न जोडदार माग गर्दछौं ।’
२६ बैशाख २०७८, आईतवार १८:०० प्रकाशित