क्रेटा पछि कोहलपुर नगरपालिकाको ‘एसी काण्ड’
  • काँचुली खबर

कोरोना महामारीको बिचमा बाँकेको कोहलपुर नगरपालिका पुन: विवादित बनेको छ । यसअघि जनप्रतिनिधि तथा कर्मचारीकालागि सुविधासम्पन्न क्रेटा गाडी किनेर आलोचनाको सिकार भएको कोहलपुर नगरपालिकाले विवादास्पद र अब्यवहारीक गतिविधिलाई निरन्तरता दिएको छ ।

कोरोनाको चरम संकटका बिच नगरपालिकाले जनप्रतिनिधि तथा कर्मचारीको सुविधाकालागि कार्यालयमा एसी जडान गरेको छ । उपचार नपाएर नगरवासीले अकालमै ज्यान गुमाईरहेको अवस्थामा नगरपालिका भने बिलासीतामा मग्न भएको भन्दै आलोचना सुरु भएको छ ।

समुदायस्तरमा फैलिएको कोरोना महामारी नियन्त्रणकालागि ठोस रणनिति तय गर्न नसकेको नगरपालिकाले केही दिन पहिले निशुल्क स्वाव संकलन गर्ने बताएपनि त्यसले निरन्तरता पाउन सकेन । संचालन गरेको दुई दिनमै अनिश्चितकालकालागि स्थगित भएको उक्त कार्य अहिलेसम्म संचालन हुन सकेको छैन । नगरपालिकाले संचालन गर्दै आएको एक मात्र कोभिड अस्पतालमा अक्सिजनको अभाव भएपछि बिभिन्न निजि क्षेत्रले अनुदानमा त्यसको पुर्ति गर्दै आएका छन । तर नगरपालिका भने कर्मचारीको सुविधाकालागि एसी जडानमा ब्यस्त देखिएको छ ।

कोहलपुर नगर क्षेत्रका अधिकाशं घरमा कोरोना संक्रमण फैलिएको छ । उनीहरूलाई नगरपालिकाले सामान्य परामर्श समेत दिन चासो देखाएको छैन । तर, कार्यालयमा विलासीताको मोह बढेपछि मेयर लुटबहादुर रावतको निर्देशनमा लाखौं मुल्यका एसी जडान गरिएको कोहलपुरका स्थानीय नेता भुम भण्डारी बताउँछन ।

मेयर साव ! अहिलेको आवश्यकता क्रेटा की एम्बुलेन्स ?

‘नागरिकलाई औषधि र अक्सिजन छैन तर कोहलपुर नगरपालिका कार्यालयले आफ्नै कार्यालयमा ३ दर्जन बढी एसि जडान गरेको छ ।’ भण्डारीले सामाजिक संजालमा लेखेका छन । यहाँ कोरोनाकाल पुर्व र पछिल्लो समय समेत गरेर ५० भन्दा बढी एसी खरिद र जडान गरिएको भण्डारी बताउँछन ।

संघीय सरकारका वा केपी ओलीको लुटतन्त्र स्थानीय हतसम्म देखिएको नेकपा माओवादी केन्द्र कोहलपुर नगर समितिका संयोजक तुलराज विष्ट बताउँछन । उनका अनुसार कोहलपुर नगरपालिकामा विकृति विसंगती बढि नै देखिएको छ ।

कोहलपुर नगरपालिकामा जडान गरिएका एसीका बारे सामाजिक सन्जालमा यतिबेला चर्को आलोचना र टिप्पणी भैरहेको छ । आमनागरिक र जानकारले कोरोना संक्रमणको बेला नगरपालिकाले गरेको यो विलासीताको कामलाई गलत भनिरहेका छन । तर, कोहलपुर नगरपालिकाले अहिलेसम्म यसको बारेमा कुनै प्रतिक्रिया जनाएको छैन ।

नगरवासीको सुविधाको लागि एम्बुलेन्स खरिद गर्न नसकेको नगरपालिकाले विभिन्न समयमा गर्ने अब्यवहारीक गतिविधिले कोहलपुरवासी आजित भईसकेको बताउँछन । नगरवासीकालागि अत्यावश्यक सुविधा उपलब्ध गराउन असक्षम रहेको नगरपालिकाले जनप्रतिनिधि र कर्मचारीको सुविधाकालागि हरेक वर्ष लाखौं रकम खर्च गर्दै आईरहेको छ । जसले गर्दा नगरपालिका र स्थानिय जनप्रतिनिधिहरुप्रति नगरवासीको वितृष्णा बढ्दै गएको छ ।

  • २२ बैशाख २०७८, बुधबार १५:४८ प्रकाशित
  • Nabintech