होम आईसोलेसनको सुविधा नभएका र बाहिरी जिल्लाका विरामी राख्न ह्वाईट हाउसमा आईसोलेसन सेन्टर
  • काँचुली खबर

नेपालगञ्ज उप-महानगरपालिकाले होम आईसोलेसनको असुविधा भएका नगरबासी र बाहिरी जिल्लाका कोभिड-१९ संक्रमितको सहजताका लागि ह्वाईट हाउसमा आइसोलेसन सेन्टर सञ्चालनमा ल्याएको छ । भारतबाट फर्किनेक्रममा जमुनाह नाकामा कोभिड पोजिटिभ भएका ब्यक्तिहरुलाई यहि आईसोलेसन सेन्टरमा राख्ने गरिएको छ ।

नेपालगञ्ज उपमहानगरपालिका २० मनिकापुरस्थित ह्वाईट हाउस आईसोलेसन सेन्टरमा बैशाख ४ गतेदेखि हालसम्म ५७ जना संक्रमितले सेवा पाएको आईसोलेसन सेन्टरका स्वास्थ्य फोकल ब्यक्ति सिनियर अहेब गोरखनाथ योगीले जानकारी दिए । शुक्रबार पनि आईसोलेसनमा बाहिरी जिल्लाका २५ जनासहित ४१ जना रहेका छन । यो आईसोलेसनमा २५ महिला र २५ पुरुषलाई राख्न सकिने गरी व्यवस्था मिलाइएको छ ।

कोभिड संक्रमित भएपछि होम आईसोलेसनको सुविधा नभएका नगरबासीले ह्वाईट हाउस आईसोलेसनबाट सेवा लिईरहेका छन् । यो सेन्टरमा सामान्य अवस्थाका कोभिड संक्रमितहरुलाई स्वास्थ्यकर्मीहरुको प्रत्यक्ष निगरानीमा राखिएको उप-महानगरपालिकाका उप-प्रमुख उमा थापा मगरले जानकारी दिईन ।

यसैबिच लक्षण सहितका विरामीलाई राख्नका लागि नेपालगञ्ज उपमहानगरपालिकाले रामलिला मैदानस्थित तालिम केन्द्रमा ५० शैयाको अक्सिजन सहितको आईसोलेसन सेन्टर शुक्रबार दिउसोदेखि सञ्चालन गर्दै छ ।

  • १७ बैशाख २०७८, शुक्रबार १४:३२ प्रकाशित
  • Nabintech