विश्वब्यापी रुपमा फैलिएको नोवेल कोरोना भाईरस (कोभिड-१९) ले सिङ्गो विश्वलाई आक्रान्त बनाएको छ । कसैकसैमा यो रोगले सामान्य प्रभाव मात्रै पार्छ भने केहीमा यो रोग मृत्युको कारण बनिदिन्छ । यो नयाँ भाइरसले कसरी शरीरमा आक्रमण गर्छ ? यसका कारण किन मानिसको ज्यान जान्छ ?
मानिसको शरीरमा प्रवेश गरिसकेपछि भाइरस फैलिन र स्थापित हुन केही समय लाग्छ । त्यसलाई ’इन्क्युबेशन पीरीअड’ अथवा सङ्क्रमणकाल भनिन्छ । त्यो बेला भाइरसहरूले तपाईको शरीरमा कोषभित्र पसेर तिनलाई आफ्नो नियन्त्रणमा लिने गर्छन् । यदि नजिकै कसैले खोकिरहेको छ भने तपाईले सास फेर्दा कोरोनाभाइरस शरीरमा पस्न सक्छ । दूषित वस्तु वा सतह छोएर आफ्नो अनुहार छुँदा पनि कोरोना भाइरस शरीरमा छिर्न सक्छ ।
त्यसले पहिला तपाईको घाँटीभित्रका कोष, सासनली र फोक्सोलाई असर गर्न थाल्छ । बिस्तारै ती अङ्ग कोरोना भाइरस उत्पादन गर्ने कारखाना जस्तै बन्न पुग्छन् र धेरै भाइरस उत्पादन हुन थाल्छन् । तिनले तपाईका थप कोषलाई आक्रमण गरेर तिनमा आफ्नो अधिकार स्थापित गर्छन् ।
प्रारम्भिक अवस्थामा तपाई बिरामी पर्नुहुन्न । केही मानिसलाई त कहिल्यै कुनै लक्षण नै देखिँदैन । भाइरस स्थापित हुने सङ्क्रमणकालीन अवधि सरदर पाँच दिनको भएको पाइएको छ । अधिकांश सङ्क्रमित मानिसले यो बेहोर्नुपर्छ ।
कोभिड–१९ भन्ने रोग १० मध्ये आठ जनाका लागि सामान्य रोग हो । उनीहरूलाई रुघा लाग्ने र ज्वरो आउने गर्छ । शरीरका अङ्ग दुख्ने, घाँटी दुख्ने र टाउको दुख्ने समस्या हुन सक्छन् । तर ती लक्षण देखिन्छन् नै भन्ने छैन ।
ज्वरो आउनु र असहज महसुस गर्नु तपाईको प्रतिरक्षा प्रणाली सक्रिय भएर त्यसले सङ्क्रमणसँग सङ्घर्ष गरिरहेको परिणाम हो । यस्तो बेला भाइरस कुनै बाह्य तत्त्व हो भन्ने बुझेर त्यसविरुद्ध लड्न उक्त प्रणालीले साईटकाईन नामक प्रोटीन परिचालन गर्छ । यस्तो बेला प्रतिरक्षा प्रणाली पूरै सक्रिय हुन थाल्छ । तर सँगसँगै शरीरमा पीडा हुने र तापक्रम बढ्ने अर्थात् ज्वरो आउने हुन्छ ।
कोरोना भाइरस सङ्क्रमण भएको बेला सुक्खा खोकी लाग्छ । त्यति बेलासम्म भाइरसहरू कोषमा बिस्तारै सक्रिय हुन थाल्छन् । केही मानिसलाई खकार पनि आउन थाल्छ ।
यस्ता लक्षण देखिएमा बिरामीलाई ओछ्यानमा आराम गर्न लगाइन्छ र पर्याप्त झोल कुरा खान दिइन्छ । प्यारासिटामोल पनि दिइन्छ । यति बेला अस्पताल नै लगेर विशेष उपचार गर्न आवश्यक हुँदैन । एक हप्तासम्म रहन सक्ने यो अवस्थामा प्रतिरक्षा प्रणाली सक्रिय भएका कारण अधिकांश बिरामीहरूलाई निको हुन्छ ।
तर केही केहीलाई गम्भीर प्रकारको समस्या उत्पन्न हुन सक्छ ।
यदि रोग अझै गम्भीर हुँदै गयो भने भाइरसविरुद्ध प्रतिरक्षा प्रणालीको अधिक सक्रियता त्यसको कारण हुन सक्छ । प्रतिरक्षा प्रणाली सक्रिय हुँदा शरीरमा फैलिने रसायनले शरीरमा जलन हुन सक्छ । तर त्यसलाई सावधानीपूर्वक सन्तुलन मिलाउनुपर्ने हुन्छ । धेरै जलन भइरहे शरीरमा निकै धेरै हानि पनि हुन सक्छ ।
१४ बैशाख २०७८, मंगलवार १८:२१ प्रकाशित