विगत एक वर्षदेखी विश्वब्यापी रुपमा नोवेल कोरोना भाईरसको प्रकोप फैलिएको छ । विश्वका अति विकशित देखि अति विपन्न देशमा समेत यसको प्रभाव बढ्दो क्रममा छ । यसबाट नेपाल अछुतो हुने कुनै भएन । नेपालले समेत गत वर्षको चैत्रदेखी कोरोनाको प्रकोप झेल्दै आएको छ । नेपालमा हालसम्म कोरोनाकै कारण हजारौंले ज्यान गुमाईसकेका छन । यस्तो विषम परिस्थितीबाट पार पाउन नेपालका हरेक स्थानिय तहले आफ्नो क्षमता अनुसारको गतिविधिहरु संचालन गर्दै आईरहेका छन । तर बाँकेको एक स्थानिय तह भने कोरोनाकालमा समेत फरक विषयका कारण चर्चामा छ ।
हामी आज बाँकेको कोहलपुर नगरपालिकाको ‘कार काण्ड’ का बारेमा चर्चा गर्दैछौं । भारतीय सिमाक्षेत्रबाट १८ किलोमिटरको पेरिफेरीमा रहेको कोहलपुर नगरपालिका कोरोना महामारीको उच्च जोखिममा छ । दिनहुँ सयौंको सँख्यामा बाँकेमा कोरोना संक्रमित फेला परिहरेका छन । बाँकेको भेरी अस्पताल र कोहलपुरको नेपालगन्ज मेडिकल कलेजमा रहेको कोरोना वार्डका सबै शैया कोरोनाका बिरामीहरुका कारण भरिभराउ छन । दिनमै ३/४ जनाले कोरोनाका कारण अकालमै ज्यान गुमाईरहेको छन । भारतबाट आएका संक्रमितहरुलाई सुरक्षित स्थान तथा अस्पतालसम्म लैजान स्थानिय तहसँग एम्बुलेन्स समेत छैन । तर यस्तो अवस्थामा समेत कोहलपुर नगरपालिका भने विलासी गाडी खरिदमा ब्यस्त छ । कोहलपुर नगरपालिकाले कोरोना माहामारीकै बिच जनप्रतिनिधिको सुविधाकालागि भे १ झ ३२९ नम्बरको ‘क्रेटा कार’ खरिद गरेको विषयले कोहलपुरको छवि धमिलिएको छ ।
नगरवासीले चरम स्वास्थ्य समस्या झेलिरहेको अवधिमा नगरपालिकाले बिलासी गाडी खरिद गर्नु कत्तिको जायज होला ? नगरपालिकाका मेयर र कार्यकारी अधिकृतको लागि भनेर खरिद गरिएको होण्डाई कम्पनीको ५० लाख मूल्य पर्ने क्रेटा गाडीको बिषयलाई लिएर अहिले सामाजिक संजालमा ब्यापक बिरोध भईरहेको छ ।
कोरोना महामारीका बेला बिरामीलाई अस्पतालसम्म पुर्याउनकालागि एम्बुलेन्स खरिद गर्न नसक्ने नगरपालिकाले जनप्रतिनिधिहरुको सुविधाकालागि गाडी खरिद गरेपछि स्थानिय तथा राष्ट्रिय स्तरमै त्यसको आलोचना भईरहेको छ । तर कोहलपुर नगरपालिकाले भने अहिलेसम्म त्यस विषयमा कुनै स्पष्टिकरण दिएको छ ।
नगरपालिकासँग पहिल्यैदेखी नै प्रयाप्त सवारीसाधन हुदाहुँदै बिलासिताको लागि फेरी पनि नयाँ गाडी भित्राउनु राज्य कोषको ब्यापक दुरुपयोग हो । नगरभित्र अत्यावश्यक रहेको एम्बुलेन्स खरिदकालागि वर्षेनी खजेट छुट्याउने नगरपालिकाले बितेको ३ वर्षसम्म एम्बुलेन्स ल्याउन सकेको छैन । तर पछिल्लो २ वर्षको अन्तरालमा नगरपालिकाले जनप्रतिनिधिहरुकालागि २ वटा विलासी गाडी र दर्जन बढि दुई पाङ्गे सवारीसाधन भित्राईसकेको छ ।
यस विषयमा नेपाल सरकारका पुर्व सचिब भिम उपाध्यायले फेसबुक मार्फत नगरपालिकाले किनेको उक्त क्रेटा गाडीको तस्बिर सार्वजनिक गरेपछि यो सबैको चासोको विषय बन्न पुगेको छ । सामाजिक संजालमा ब्यापक विरोध भएपछि कोहलपुर नगरपालिकाकी उपमेयर सन्जु कुमारी थारुले गाडी खरिद प्रक्रियामा आफ्नो कुनै संलग्नता नभएको स्पष्टिकरण दिएकी छन । उनले नगरपालिकाका कुनैपनि निर्णय आफु अनुकुल नभएको भन्दै फेसबुकबाट गुनाशो ब्यक्त गरेकी छन ।
बाँकेको दोस्रो ठूलो सहरका रूपमा रहेको कोहलपुरमा तीन स्वास्थ्य चौकी, ११ आधारभूत स्वास्थ्य केन्द्र र एउटा सहरी स्वास्थ्य क्लिनिक छन् । ती कुनै पनि स्वास्थ्य संस्थामा एम्बुलेन्स छैनन् । कोहलपुरका स्थानीय नारायण कँडेलले फेसबुकमा लेखेका छन्, कोरोनाले सिथिल पार्दै गर्दा अत्यावश्यक सामाग्रीको कुनै चाजोपाजो छैन । कोरोनाको लक्षण देखिँदा ‘एम्बुलेन्स भोली आउँछ आज खाली छैन’ भन्ने हजुर (मेयर)ले ३२९ हैन ४२० नम्बर राख्नुपर्ने हो ।’ उनले मेयर लगायतका जनप्रतिनिधिहरुको आलोचना गर्दै विलासिताका लागि खरीद गरेको महङ्गो कारको नम्बर ३२९ नभएर ४२० हुनुपर्ने भन्दै व्यङ्ग्य गरेका छन् ।
त्यस्तै नेपालगन्ज मेडिकल कलेज कोहलपुरका डाक्टर देवेन्द्र आचार्यले लेखेका छन्, ‘कोहलपुर नगरपालिकामा कोरोनाका बिरामीलाई अस्पतालसम्म पुर्याउन एउटा एम्बुलेन्स छैन, तर, मेयर साब र कार्यकारी अधिकृत ज्युलाई घुम्नलाई भर्खरै हुण्डाईको झण्डै ५० लाख पर्ने क्रेटा भित्रिएको छ । बधाई छ कोहलपुर नगरपालिकालाई ।’
यसैबिच कोहलपुर नगरपालिकाका प्रवक्ता माधव रिजालले सामाजिक सञ्जाल फेसबुक मार्फत गाडी प्रकरणको बिरोध गरेका छन । उनले लेखेका छन्, ‘कसैलाई सरर चढेको देख्छु, अस्पताल पुग्छु, बिरामी बेड नपाएर भुइँमा लडेको देख्छु, निशब्द छु । हरे जिन्दगी ।’
यस विषयमा कोहलपुर नगरपालिकाका मेयर लुटबहादुर रावतसँग बुझ्न खोज्दा नगरपालिकाको आवश्यकतालाई मध्यनजर गरेर नै नयाँ गाडी खरिद गरीएको बताए । यद्यपी आफुले सबैलाई पायक पर्ने पिकअप भ्यान किन्न खोजेपनि अरु नै मोडल र ब्राण्डको कार भित्रिएको भन्दै रावतले आश्चर्य ब्यक्त गरे । ‘कोहलपुर नगरपालिका ५, ६ र ७ नम्बर प्रदेशको केन्द्रमा छ, यहाँ दिनहुँ केन्द्रिय साँसद, मन्त्री तथा नेताहरु ओहोरदोहोर गर्नुहुन्छ । यहाँहरुको प्रयोजनकालागि समेत आवश्यक भएको महशुस गरेर नयाँ गाडी खरिद गरेका हौं ।’ रावतले भने ।
‘खासमा नगरप्रहरीले समेत प्रयोग गर्न मिल्ने खालको पिकअप भ्यान किन्ने कुरा भएको थियो, कसरी गाडीको मोडल चेन्ज भएछ ?’ आश्चर्य भावमा मेयर रावतले प्रतिप्रश्न गरे ।
उनले यसै आर्थिक वर्षभित्र नगरपालिकाले एम्बुलेन्स भित्राउने तयारी गरीरहेको बताए । एम्बुलेन्स खरिदकालागि नगरपालिकाले २७ लाख बजेट बिनियोजन गरिसकेको भएपनि प्राविधिक समस्याका कारण केही ढिलाई भएको जिकिर गर्दै मेयर रावतले यसै आर्थिक वर्षभित्र एम्बुलेन्स ल्याउने गरी प्रयास भईरहेको बताए ।
नगरपालिकाले एम्बुलेन्स खरिदकालागि भन्सार छुट गरीदिन बारम्बार मन्त्रालयमा पत्राचार गरेपनि त्यसको सार्थकता पाउन नसकेको गुनासो पोखे । ‘एउटा एम्बुलेन्स किन्दा लागत मुल्य बराबरकै भन्सार लाग्दो रहेछ’ रावतले भने, ‘उक्त भन्सार छुटकालागि केन्द्रमा पत्राचार गरेका छौं, भएन भने अर्को विकल्प खोजेर भएपनि एम्बुलेन्स ल्याउछौं ।’
१२ बैशाख २०७८, आईतवार १५:१७ प्रकाशित