बाँकेका थप २ संक्रमित महिलाको मृत्यु
  • काँचुली खबर

फाइल फोटो
बाँकेमा तिब्र रुपमा फैलिरहेको कोरोना संक्रमणसङ्गै मृत्यु दर पनि ह्वात्तै बढेको छ । शनिबार राती र आइतबार बिहान गरेर उपचाररत थप दुई संक्रमित महिलाको ज्यान गएको छ ।
जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्र बाँकेका फोकल पर्सन तेज ओलीका अनुसार बाँके खजुरा गाउँपालिका वडा नम्बर ३ की ४७ बर्षिया कोरोना संक्रमित महिलाको शनिबार राती १०:३० बजे मृत्यु भएको छ । गत बैशाख १ गते कोरोना संक्रमण देखिएपछि उनलाई भेरी अस्पतालमा भर्ना गरिएको र उपचारका क्रममा शनिबार राती अस्पतालमा उनको मृत्यु भएको ओलीले जानकारी दिए ।
त्यसैगरी, कोहलपुर नगरपालिका वडा नम्बर १० की ३६ बर्षिया संक्रमित महिलाको उपचारका क्रममा आज बिहान मृत्यु भएको छ । फोकल पर्सन ओलीका अनुसार मृतक महिलालाई बैशाख १० गते कोरोना संक्रमण देखिएपछि नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा भर्ना गरी उपचार थालिएको थियो । उपचारकै क्रममा आइतबार बिहान २:३० बजे उनको मृत्यु भएको हो ।
योसङ्गै बाँकेमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ८१ पुगेको छ ।

  • १२ बैशाख २०७८, आईतवार ०७:४४ प्रकाशित
  • Nabintech