(नेपाली कम्युनिष्ट आन्दोलनको इतिहासमा पहिलो पुस्ताका नेता भनेर चिनिने खगुलाल गुरुङ अहिले १०३ बर्ष पुगे । २००७ सालको राणाविरोधी संघर्षका स्वतन्त्रता सेनानी खगुलाल गुरुङ नेपाल कम्युनिष्ट पार्टी, प्युठानको स्थापना हुँदा २०१० साल मंसिरमा ७ जनामध्ये एक संस्थापक सदस्य र २०१५ सालको आम निर्वाचनमा ८३ नं क्षेत्रबाट नेपाल कम्युनिष्ट पार्टीको तर्फबाट उम्मेदवार समेत रहेका थिए । उनले आफ्नो राजनीतिक जीवनमा भोगेका भोगाईहरुलाई समेटेर आफ्नो ‘राजनीति जीवन यात्रा’ लेखेका छन । जीवन यात्रालाई बिमल पोखरेलले सम्पादन तथा प्रस्तुति गरेका छन । उनको जीवन यात्रालाई हामीले क्रमशः प्रस्तुत गर्ने कोशिस गरेका छौं । – सम्पादक )
हामीले खोलेको प्रगतिशील शिविर सफल पार्नको लागि प्यूठान जिल्लामा भइरहेको साहुमहाजनका शोषण, जालझेलका किर्ते तमसुक, घुस आदिको विरोधको कार्यनीतिको योजना तर्जुमा गरियो । किसानहरुलाई परेको पीरमर्का, उनीहरुमाथि भइरहेका शोषणका बारेमा व्यवहारिक दृष्यहरुको नाटक रचना गरेर प्यूठानका केही भागहरुमा देखाइयो । नाटकको निर्देशक लाले जोकर हुन्, जुन पाल्पाका नेवार थिए । नाटकको रचना भने मोहनविक्रमले गरेका थिए । त्यो नाटकको कलाकार कविराज पण्डित, म, ईश्वर आदि थियौं । नाटकमा मैले लाहुरेको भारी बोक्ने भरियाको भूमिका खेलेको थिएँ । नाटक नारीकोटको पिपलको रुखमा पुगी समापन भएको थियो । त्यो प्रगतिशील शिविरले के के नीति अपनाएको थियो भने सरकारले गरेको भ्रष्टाचारको विरोध गर्ने, गाउँले जालीफटाहा, शोषकहरुले किसानमाथि गरेको अन्याय अत्याचार, दमनको विरोध गर्ने र जनचेतना जगाउनु थियो । नारीकोटका खडक कुवर, मित्र कुवर, पुरन घर्तीहरुले त्यस शिविरमा एउटा निवेदन दिएका थिए । त्यही निवेदनअनुसार त्यो शिविर फागुन ९ गते नारीकोटमा गएको थियो । पुरनको खेतमा शोषकहरुले गाई चराएका रहेछन् । त्यसको क्षतिपूर्ति गर्न १५ मुरे भन्ने खेतमा फागुन ८ गते गएको थियो । तर शोषकहरुले त्यो शिविर हाम्रो घर लुट्न आएको छ, हामीलाई मद्दत गर्न आउ भनी त्यहाँका स्थानीय साहुहरुको मद्दत मागे । उनीहरुको मद्दतका लागि खुंगाली लालबहादुर, चन्द्रबहादुर, खिमबहादुर मल्लसमेतको ६०, ६५ जना ठकुरीहरु आए । तिनीहरुले शोषकहरको घर घेरेर ३ दिनसम्म बसेका थिए ।
तिनीहरुले शोषकहरुलाई पक्रने मौका दिएनन् । हामीहरुले पनि अर्काे गोप्य नीति अपनायौं । अब हामी यहाँबाट जान्छौं, तपाईहरु विदा हुन आउनुभएमा राम्रो हुन्थ्यो भन्ने बहाना गरी समाचार पठायौं । त्यसपछि उनीहरु जाने भए । हामी बच्यौं भनी हतार हतार गरी पिपलको रुखमा आए । उनीहरुलाई मोहनविक्रमले भन्नुभयो कि तपाईंहरुले खड्क कुुवरको बन्दगी मिलाउनुहुन्छ कि के गर्ने ? छलफल चल्दै थियो । हामीहरुले तिनीहरुलाई पक्रने ठूलो दल अर्कै ठाउँमा लुकाएर राखेका थियौं । पक्रिने दलका कमाण्डर खिमविक्रम (मोहनविक्रमका पिता) नै थिए । उनी त्यस संघर्षलाई सफल पार्नको लागि लागिपरे । शोषकहरुलाई पक्रेर मच्छी ठाँटीमा ल्याइयो । यो २०१० साल फागुनको कुरा हो । गाउँका फटाहाहरु ४५ जना थिए । तिनलाई खिमविक्रमकै नेतृत्वमा पक्रने काम भयो । ब्योरे, देउराली, भेंडावारी, आहाल हुँदै मच्छी ठाँटी धिरज नेवारको घरमा साझ ७ बजे पु¥याइयो । त्यो दिन मेरो पिता धेरै विरामी हुनुहुन्थ्यो । फटाहाहरुलाई मच्छीतिर पठाएपछि म घर आएँ र पितालाई सबै कुरा बताएँ । उहाँले भन्नुभयो कि जाऊ तिनीहरुलाई नछोड । अहिलेसम्म गाउँका किसानहरुलाई चुसेर धनी भएका फटाहालाई नछोड भन्नुभयो । म त्यस राती १२ बजे मच्छी पुगें । उनीहरुलाई त्यही घरको कोठामा थुनियो । हाम्रो संघर्षलाई साथ दिने चेतमान गिरीसमेतका ३०, ३५ जना थिए । शिविरका विद्यार्थीसमेत गरी ६०, ७० जना थियौं । उनीहरु सबै थाकेका थिए । कोही खाना खाएर सुतेका थिए भने कोहीले भाँडा माझ्दै थिए ।
राती नै उनीहरुलाई लैजानको लागि खुंगबाट चन्द्रबहादुर, खिमबहादुर, हिराबहादुर समेत करिब १ सय ५० जना खुँडाखुकुरी, भरुवा बन्दुक लिएर ढाँडाको जंगलहुँदै लालटिन, टर्च, दियालो बाल्दै हामीमाथि आक्रमण गर्न आए । हामीलाई आक्रमण गर्न आउने दुस्मनहरुलाई फते कुमाल र मैले ढाँडामा आएको देख्यौं । हामीले त्यो सूचना साथीहरुलाई ग¥यौं । सबै साथीहरुलाई उठायौं । विद्यार्थीहरुलाई माथि डाँडामा लग्यौं । उनीहरुलाई ढुंगा पल्टाउन लगाइयो । त्यो ठाउँमा अहिले मच्छीको बालशिक्षा माध्यमिक विद्यालय र क्याम्पस छ ।
मोहनविक्रम, म र लीले कामी मच्छी आईपुग्ने साँघुरो बाटोमा १२ बोर २ नाले बन्दुक लिएर बसेका थियौं । माथिबाट ढुंगा पल्टाइदिए । ती फटाहाको नेतृत्व गर्ने चन्द्रबहादुर मल्ल थिए, उनले भने ए यिनीहरुले त मार्ने हुकुम लिएर आएका रहेछन् खै खै त्यो बन्दुक अगाडि ले । मैले आकासतिर फर्काएर फायर गरें । अनि माथिबाट साथीहरुले ढुंगा बर्साए । १ सय ५० जना जति सबै झिमरुकको तिरैतिरबाट फाल हाले । पारितिर पिंडाल्ने भन्ने ठाउँमा ठाकुर गिरीहरुको गोठ थियो, अहिले पनि छ । तिनीहरु त्यही गोठमा गएर बसे । केहीबेरपछि तिनीहरु फेरि हामीले थुनेर राखेका फटाहाहरुलाई मुक्त गराउनको लागि आउन थाले । हामीले पनि ढुंगा बर्साउन थाल्यौं । उनीहरु हटेनन् । मैले २ पटक हवाइ फायर गरें । फटाहाहरुलाई राखेको कोठामा ग्यास बत्ती बलिरहेको थियो । त्यही बत्तीको निसानाले तिनीहरु आइरहेका थिए । तर मैले ग्यास बत्तीको हावा खोल्न जानेको थिइन । मोहनविक्रम आएर त्यसको हावा खोल्नुभयो । अँध्यारो भएपछि तिनीहरु पनि अन्धाधुन्ध कता हो कता भए । हामीले ढुंगा बर्साइरह्यौं । फेरि फायर ग¥यौं । ती शोषकहरुलाई खिमविक्रमसमेतका केही जनाले अध्यारोमा नै मच्छीबाट खहरे पु¥याए । हामीहरु विहान ६ बजेसम्म त्यहीँ लडिरह्यौं । दुस्मनहरुले नन्दलालको घरमा आगो ठोकौं भन्दै फर्किए । हामी ओखरकोट भोजविक्रमको घरमा गयौं । अर्काे दिन खहरे झ¥यौं । फटाहाहरुलाई मच्छीमै झा¥यौं । ओखरकोट, तुषारा, बादीकोट, नारीकोटका पदमबहादुरसमेतका ७०, ८० जना किसानहरु त्यहीं थिए ।
२४ फागुनका दिन मच्छीमा प्रगतिशील शिविरका विद्यार्थी, त्यहाँका भद्रभलाद्मी, बुद्धिजीवीसमेत करिब ९-१० हजार जति जनता सहभागी थिए । खड्ग कुवरको कागज च्यात्न र मित्र कुवरको बन्दगी पैसा बुझ्न तिनी फटाहा शोषकले मानेनन् । मित्र कुवरको ८ सय रुपैयाँमा २० मुरीको खेत खाएका थिए । दिनको ४ बजेसम्म फटाहाले दाबा छोडेनन् । पिंडाल्नेको फाँटमा गहु जौं थियो । त्यहाँको वरको रुखमुनिबाट हामीलाई बन्दुकले हान्ने नीति ती बुद्धि हराएका ठकुरीहरुले बनाएका थिए । अनी त्यसबेलामा ख्याउटे भई हिराबहादुर ठकुरी आए । तिनलाई हामीले त्यही पक्र्यौं । पिडाल्नेको खेतमाथि आक्रमण गर्ने दुस्मनहरु देख्यौं । मसँग १२ बोरको २ नाले भरुवा बन्दुक थियो । अनि मैले भनें, अब रात प¥यो, आज पनि हिजोको जस्तै राती दुःख दिन्छन्, छोड्दिनुस् म यिनीहरुलाई गनीगनी खत्तम गराउँछु । त्यहाँ सहभागी भएका जनसमाजलाई हट्नुस भनी हामी तीनजनाले बन्दुक दुष्मनतिर सोझ्यायौं । त्यसैबेलामा सुबदार वीरबहादुरले भने कि मान्छे हट, फायर चल्यो । अनि बल्ल ती फटाहा शोषकहरुले खड्ग कुवरको जालजासी गरी राखेको कागज च्यातिदिए । मित्रलाल कुवरको ८ सय बन्दगी थैली बुझे । शोषक फटाहाहरुमाथि किसानहरुले विजय गरेको दिन फागुन २४ गते हो ।
(क्रमशः अर्काे अंकमा)
सम्पादन÷प्रस्तुति विमल पोखरेल
६ बैशाख २०७८, सोमबार १६:२६ प्रकाशित