हल्लाको हावाले साहित्यमा पनि आँधी आउँछ बेला बेला । पद्मश्री र मदनको छाप बोक्न लाम लाग्छन् । नाम र कामको तारतम्य मिलेको हुन्न भन्ने हल्ला खुब सुन्न पाइन्छ । उसो त म जस्ता पाठकले पढेपछि नै हो पुस्तकको गुण बुझ्ने । खासमा किताबले चिन्छु म कोहि लेखक चिन्नु पर्दा । बसाइँले हो लिलबहादुर चिनाएको त्यसैगरी अब्स्ट्र्याक्ट चिन्तन प्याजले हो शंकर लामिछाने चिनेको । चन्द्रप्रकाश बानियाको पुस्तक पढ्नु अघि अनलाईन पत्रीकामा अन्तरबार्ता पढेको थिएँ । महारानी उपन्यासले मदन पुरस्कार पाउन मेरो कुनै कतै लगानी छैन । हार गुहार छैन । लेखकको स्पष्टीकरण थियो । त्यससँगै जागेको हो महारानी पढ्ने उत्सुकता । करिब दुइदिन लाएर पढेपछि महारानी माथी पर्वत राज्यले देवी मानेर सम्मान दिए झैँ नेपाली साहित्यले गरेको मदन पुरस्कारको सम्मान सहि पुस्तकमाथी भएकोमा बिश्वस्त भएँ ।
शुरूवात मै दिइएको आधारभूमीले नै ऐतिहासिक बिषयवस्तु रहेको पुष्ठि भएको छ । लेखकिय रूपमा काल्पनिकता नदेखिने उपन्यास पर्वत राज्यकै सेरोफेरोमा छ । दरवार भित्र हुने सत्ताको लडाइँमा एउटा नारीले गरेको त्याग नै प्रमुख बिषय बनाइएको छ । राज्यको शासनकाल भरी दरवारमा रहेका महारानीको बुद्धिमानीको चर्चा सुक्ष्म ढंलले गरिएको छ । ज्यानको बदला ज्यानलिने त्यतिबेलाको कानुनलाई मानविय हिसावले ज्यान नलिइ सजाय दिइएको एउटा घटना र जार काट्ने प्रथा जनसाधारणलाई सामान्य पार्न महारानीको बुद्दिमता देखाइएको छ । समाज सुधार उन्मुख हुन नियमहरु कानुनहरु समयानुकूल असल शासकले परिमार्जन गर्नुपर्छ भन्ने गतिलो सन्देश हो यो ।
त्यसबेलाको चलनमा चलेका रिति स्थिति र नियम किन कसरी बने त भन्ने जानकारी दिन सुमन्त बानियाँको प्रमुख भूमिका देखिन्छ । लेखक समेत बानियाँ हुनुले ती सुमन्त बानियाँ चन्द्रप्रकाश (लेखक/उपन्यासकार) का कोहि नजिकका आफन्त अघिल्ला पुस्ता हुन् कि भनेर अनुमान गर्न सकिन्छ । पर्वत राज्यको समृद्धिका लागि राजा घनश्याम मल्लको राज्यकालमा शान्ति र स्थिरता देखाइएको छ । कुत तिरोभरो कै भरमा राज्य सहज चलेको छ । एकैपटक एउटा युवराजका लागी दुइटा कन्याको डोली बिहेको मिति भन्दा दुइ बर्ष अघावै भित्र्याउन पर्नु राज्यको त्यत्ती ठूलो बाध्यता थिएन कि ? ऐतिहासिक कुरा हुनाले त्यसबेलाको चलनमा नजर अन्दाज गर्न पनि दिएन होला सर्जकलाई । दुइटा ल्याएका मध्ये एउटिको अधिक भुमिका देखिनु अर्कि छायामा पर्नु सौतेनी व्यवहार नै हो । राजा घनश्यामको दुई बिहे गर्न बाध्य भएको कथन सहि देखिन्छ भने शुरूवातमै दुइटा डोली भित्र्याउनु पर्ने बाध्यता त्यति देखिदैन ।
विश्वप्रभा र मलेबम राजकुमारको बीच चलेका प्रेम प्रसंग अत्यधिक शालिन छन् । ऋतु र प्राकृतिक सुन्दताको वर्णन अतुलनीय छ । देउपुरे कन्या विश्वप्रभा रानी हुनुपुर्व नै राज्यमा प्रिय भैसकेको दृष्टान्तले उपन्यासको गरिमा बढाएको छ । महारानी हुन नियतिले नदिएर पनि महारानीको सम्मान पाउन उनले गरेको त्यागलाई देखाइएको छ ।
प्रेमको आँखाबाट हेर्दा सबैकुरा सुन्दर देखिन्छ । बिवाह पछि प्रेम सकिन्छ । प्रेमको ज्योति त्यागमै चम्किन्छ । प्रेम सदैव वियोगान्त रहे मात्र सफल र ऐतिहासिक हुन्छ भनेर देखाइएको छ ।
सौतेनी सम्बन्ध कलहको बिउले जीउधनकै नास गराउन कसरी भूमिका खेल्छ भन्ने कुरा पनि सुक्ष्म तरिकाले देखाइएको छ । कमल जैसी र डिल्ली भुजेलको बुद्दिमा लागेर आफ्नै ज्यान समेत गुमाएका भदृ अरुको लागि बलिको बोको भएका छन् । समाजमा अथवा राज्यमा यस्ता पात्रहरु विखण्डनको पक्षमा सधैं देखिन्छन् ।
विश्वप्रभाको पलायन र सुसारेको आत्महत्या र मलेबमको कारुणिक अवस्थाले अन्त्य अत्यन्त विदारक देखिन्छ । मान्छे वियोगमा विवेकशुन्य हुन्छ भन्ने दृष्टान्त पनि दिइएको छ ।
दोस्रो पटक छापिएर आउँदा पनि कहिकतै छपाइ असुद्दी भेटिएका छन् । पृष्ठ ५४ मा प्रस्तु (हुनुपर्ने – प्रस्तुत ,चरिचर न हुनुपर्ने चरिचरन) जस्ता असुद्दी कम्तिमा दोश्रो पटकमा दोहोरिन हुँदैनथ्यो । ३६८ पृष्ठ को महारानी ४५०/- ब्यक्तिगत मोल तिरेर पढ्दा खुशी नै लाग्छ । भाषा शुरूवातमा अलिक भिन्न लागेपनी पढ्दै जाँदा सहज लाग्दछ । बाइसे चौबिसे राज्यकालको संबादमा प्रयुक्त भाषाले ऐतिहासिकता बोलेको छ ।
अस्तु ।
विष्णु पादुका
कोहलपुर-४, बाँके ।
३० माघ २०७७, शुक्रबार २२:३५ प्रकाशित