गत संघीय निर्वाचनमा वाम गठबन्धनबाट चुनाव लडेका स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठीले नयाँ दल खोल्ने तयारी थालेका छन् । २०७४ को निर्वाचनमा सूर्य चिन्ह लडेका त्रिपाठी अहिलेसम्म स्वतन्त्र सांसदको रुपमा ओली सरकारको मन्त्री रहँदै आएका थिए ।
स्वास्थ्यमन्त्री त्रिपाठीले नयाँ राजनीतिक दल खोल्न भित्रभित्रै गृहकार्य सुरु गरेका छन् । त्रिपाठी निकट स्रोतका अनुसार उनी अहिले सर्वोच्चको निर्णय पर्खेर बसेका छन् । सर्वोच्चले संसद पुनर्स्थापनाको पक्षमा निर्णय नगरेमा नयाँ दलको तयारी तीब्र बनाउने भएका छन् । ‘सर्वोच्चले पुनर्स्थापना गर्यो भने तत्काल काम अघि बढ्दैन । तर पुनर्स्थापना गरेन र देश चुनावमा जाने अवस्था आयो भने नयाँ पार्टीको घोषणा हुन्छ’ त्रिपाठी निकट स्रोतले भन्यो ।
त्रिपाठीले पूरानो तराइ मधेस लोकतान्त्रिक पार्टी ब्युझाउने प्रयास पनि गरेका छन् । त्यसबेला उनी त्यस पार्टीका सहअध्यक्ष थिए । तत्कालिन तमलोपासहित तराई मधेस केन्द्रित ६ दलबिच एकीकरण भई राष्ट्रिय जनता पार्टी गठन भएदेखि नयाँ नेतृत्वसँग उनी असन्तुष्ट थिए । प्रतिनिधि सभाको चुनावको मुखमै उनले तत्कालिन राजपा छाडेको घोषणा गरे र सूर्य चिन्हबाट चुनाव लडेका थिए ।
तर पनि उनी औपचारिक रुपमा नेकपामा प्रवेश गरेनन् । यद्यपि उनले अझै पनि आफू स्वतन्त्र भएको बताउँदै आएका छन् । ओली सरकारमा मन्त्री हुनुभन्दा पहिले उनले आफूनिकट व्यक्तिहरुको भेला गरी नयाँ पार्टी खोल्ने घोषणा गरेका थिए । तर ओली सरकारमा मन्त्री भएपछि नयाँ पार्टी खोल्ने योजना तत्कालका लागि रोकिएको थियो । मन्त्री हुनुअघि उनले अनामनगरमा सम्पर्क कार्यालयसमेत खोलेका थिए ।
स्रोतका अनुसार व्रिजेश गुप्ता, अजय शाही, पशुपतिदयाल मिश्रलगायत नेताहरुले उनलाई साथ दिने भएका छन् । उनले जनता समाजावदी पार्टीका असन्तुष्ट नेता प्रदीप यादव, इस्तिायक राइ, रेणु यादव, बिमल श्रीवास्तव लगायतका नेताहरुसँग पनि कुराकानी अघि बढाएका छन् । लकडाउनको बेला झण्डै पार्टी फुटाउन लागेको जसपाको एउटा समूहसँग पनि उनले कुराकानी अघि बढाएका छन् ।
यसैगरी उनले जसपाको नेतृत्वबाट अपमानित गरिएको महशुस गरि रुष्ट रहँदै आएका नेता राजकिशोर यादवसँग पनि एक दुई चरण कुराकानी गरेका छन् । त्रिपाठीनिकट एक नेताका अनुसार ‘सकेसम्म पूरानो तमलोपा ब्युझाउने प्रयास हुनेछ । त्यसमा अन्य साथीहरुले मान्नुभएन भने कुनै नामबाट नयाँ पार्टी घोषणा हुनेछ ।’
स्रोतका अनुसार त्रिपाठीले तमलोपा ब्युँझाउन एक चरण तत्कालिन तमलोपाका अध्यक्ष तथा हाल जसपाको पहिलो अध्यक्ष महन्थ ठाकुरसँग पनि कुराकानी गरेका थिए । तर ठाकुरले आफू जसपाको पहिलो अध्यक्ष भएकोले अब पूरानो तमलोपा ब्युँझाउने सम्भावना नरहेको सन्देश सुनाएका थिए ।
त्रिपाठी नयाँ पार्टी खोल्ने योजना निकै गोप्य नै राख्दै आएका छन् । त्यसैले उनले निकै होशियारीपूर्वक असन्तुष्ट नेताहरुसँग कुराकानी गर्ने गरेका छन् । नेपाल कम्युनिस्ट पार्टीभित्रको अहिलेको विवादमा उनले केपी ओलीलाई साथ दिएका छन् । तर, चुनावको घोषणा भएमा उनले नयाँ दल खोल्नेछन् ।
लोकपाटीबाट
२७ माघ २०७७, मंगलवार १४:०३ प्रकाशित