नेपाली काँग्रेसका महामन्त्री शंशाक कोईरालाले नेपाली काँग्रेसले आन्दोलन गर्दा कसैसँग मिल्नु नहुने बताएका छन् । सोमबार पूर्वप्रधानमन्त्री सुशील कोइरालाको छैठौँ स्मृति दिवसको अवसरमा सुशील कोइराला सोसलिष्ट युथ सर्कलद्वारा काठमाडौंमा आयोजित संकटमा संविधान विषयक विचार गोष्ठिमा महामन्त्री कोइरालाले काँग्रेसले आन्दोलन गर्दा कसैसँग मिल्नु नहुने बताए ।
काँग्रेसको आफ्नै विचार र अस्तित्व भएका कारण संयुक्त आन्दोलनमा जानु नहुने उनको भनाई छ । उनले भने, ‘नेपाली काँग्रेसको आफ्नै विचार र अस्तित्व भएका कारण संयुक्त आन्दोलनमा जानु हुँदैन । संयुक्त आन्दोलनमा गए काँग्रेसलाई घाटा हुन्छ ।’
महामन्त्री कोइरालाले आफ्नो कार्यकर्ताहरुलाई समेटेर एकजुट बनाएर लिएर जान सके काँग्रेसको भविष्य उज्वल रहेको उनले बताए । नेपाली काँग्रेसका केन्द्रीय सदस्य मिनेन्द्र रिजालले अहिलेको समस्याको मुख्य जड प्रधानमन्त्री ओलीको मानसिकता रहेको बताए ।
ओलीलाई जनताले संसद, संविधान र कानुनको अधिनमा बसेर शासन गर्न चुनाव जिताएर पठाएको भएपनि कानुन, संविधान, अदालत केही नमान्ने प्रवृत्ति ओलीमा रहेको उनको भनाई छ । नेता रिजालले संसद विघटन अघि एकै ठाउँमा बसेका मान्छेहरु अहिले विभक्त भएको भन्दै कुनै एकको पक्षमा काँग्रेस नलाग्ने पनि स्पष्ट पारे ।
यस्तै रिजालले गृहमन्त्री रामबहादुर थापाप्रति कटाक्ष गर्दै वर्तमान मन्त्रिपरिषदलाई चिडियाखाना घोषणा गरेर आफैं चिडियाखानामा गएर बस्न आग्रह गरेका हुन् । २३ गते ओली समूहको जनसभामा गृहमन्त्री थापाले मांसाहारी आन्दोलन गर्नेलाई सरकारले चिडियाखानामा थुन्ने बताएका थिए ।
रिजालले गृहमन्त्री थापा आफैं ‘मान्छे मार्ने आन्दोलन’ को कमाण्डर भएको स्मरण गराउँदै आफ्ना गुरु प्रचण्डलाई थापाले धम्क्याउन अस्वभाविक भएको बताए । ‘मांसाहारी आन्दोलनको विरोध गर्ने गृहमन्त्री आफैं मान्छे मार्ने आन्दोलनको कमाण्डर हुनुहुन्थ्यो । आज आफैं गुरु प्रचण्डलाई चिडियाखानामा हाल्छु भन्दै हुनुहुन्छ । गृहमन्त्रीजी तपाई आफैं चिडियाखानामा जानुस् या मन्त्रिपरिषदलाई नै चिडियाखाना घोषणा गर्नुस्’, रिजालले भने ।
यस्तै कार्यक्रममा नेकपा प्रचण्ड-माधव नेपाल पक्षका नेता रघुजी पन्तले संविधानको रक्षा गर्नु अहिलेको मुल दायित्व भएको बताए । उनले संविधान, लोकतन्त्र, गणतन्त्र र धर्म निरपेक्षताको रक्षा गर्नुपर्ने उनको भनाई छ । अहिले संघीयता र धर्मनिरपेक्षताको बारेमा प्रश्न उठाएर संविधानलाई कमजोर बनाउनु नहुने बताए ।
नेता पन्तले वैशाखमा निर्वाचन नहुने भन्दै संविधानको रक्षाको निम्ति सबै राजनीतिक दल मिलेर आन्दोलनमा जानुपर्ने धारणा राखे । पन्तले नेपाली काँग्रेस संसद विघटनविरुद्ध दर्होसँग नउभिएको खण्डमा वाम गठबन्धन ब्यूँतन सक्ने बताए ।
काँग्रेसले चुनावै खोजेको हो भने संसद विघटनलाई किन असंवैधानिक भनेको भन्ने पन्तको प्रश्न थियो । ‘चुनावमा जाने राजनीतिक निर्णय गरिहाल्नुस् कि संविधान बचाउन आन्दोलनबाट संसद पुनःस्थापना गरौं’, पन्तले भने, ‘संसद पुनःस्थापना भयो भने कांग्रेसलाई फाइदा होला तर चुनाव भयो भने हार्ने चुनाव कोही लड्दैन । पार्टी एउटै नरहला तर चुनावमा वाम तालमेल हुनसक्छ ।’
२६ माघ २०७७, सोमबार १७:५२ प्रकाशित