सिंहदरबारमा विद्यार्थीले भने ‘वी हेट ओली’ !
  • काँचुली खबर

नेकपा प्रचण्ड-माधव निकट युवा विद्यार्थीहरुले प्रतिनिधि सभा विघटनविरुद्ध सिंहदरबार घेराउ गरेका छन् । अनेरास्ववियूका सहसंयोजक रञ्जित तामाङको नेतृत्वमा प्रधानमन्त्रीलाई विरोध पत्र बुझाउन सिंहदरवार जाने क्रममा विद्यार्थीहरुलाई प्रहरीले रोकेपछि उनीहरुले त्यहीँ बसेर घेराउसहित नाराबाजी र प्रदर्शन गरेका हुन् ।

विद्यार्थीहरु नाराबाजी गर्दै हनुमानस्थनाबाट अघि बढ्न खोज्दा प्रहरीले रोकेको थियो । प्रहरीले रोकेपछि विद्यार्थीहरु सडकमै बसेर विरोध प्रदर्शन गरेका थिए ।

त्यसक्रममा उनीहरुले ‘अनेरास्ववियू जिन्दावाद, प्रतिगमन मुर्दावाद, असंवैधानिक कु खारेज गर, केपी…. पाराले दुःख पाए साराले, केपी ओली कायर छ, सारा जनता फायर छ, विदेशी हस्तक्षेप बन्द गर, वि हेट ओली, फाल्नेछौ भोलि’ लगायतका नारा लगाएका थिए । यसअघि ओली समर्थकले ‘वी लभ केपी ओली’ को नारा लगाएकामा प्रचण्ड-नेपाल समूहका विद्यार्थीले ‘वी हेट ओली’ को नारा लगाएका हुन् ।

त्यसक्रममा युवा विद्यार्थीको ज्ञापन पत्र बुझ्न प्रधानमन्त्रीका तर्फबाट कोही उपस्थित नभएपछि विद्यार्थी नेता रञ्जित तामाङले मिडियासामु विरोध पत्र पढेर सुनाएका थिए ।

  • २५ माघ २०७७, आईतवार १६:३५ प्रकाशित
  • Nabintech