ए हजुर अस्तिकै झण्डा बोक्ने र आज पनि ? गोर्खेले गाउँको युवा नेतालाई भन्दै थियो ।
हो झण्डा अस्तिकै, गाडी अस्तिकै चढ़ने, खाना खाने ठाउँ अस्तिकै, सबै अस्ति जस्तै छ, तिमीहरु सबै जना समयमै घरबाट निस्कनु नि ? युवा नेताले आदेश दियो । गोर्खेले कुरा बुझे झै गर्यो ।
नारा के लगाउने नि हजुर ? गोर्खेले फेरि सोध्यो ।
नारा पनि मोटामोटी अस्तिका जस्तै छन् । युवाले भन्यो ।
यस पटक भाषण गर्ने पनि उनै हुन् त ? गोर्खेको जिज्ञासा मेटिएन ।
हैन हामी मूल पार्टीका हौ, अस्तिका त पार्टी परित्याग गरी गएका हुन् । युवाले रवाफका साथ भन्यो ।
तर अस्तिकाले पनि यसै भनेका थिए हजुर ! उसले कौतुहलता का साथ प्रश्न सोध्यो ।
‘तिनीहरू राष्ट्रघाती हुन्, प्रतिक्रियाबादी हुन्, विदेशीका दलाल, नोकरशाही हुन्, पुँजीबादको बाटोमा लगेका हुन्, पदलोलुप हुन्, परिवारबादमा फसेका हुन्, परिवर्तन विरोधी हुन्, जडसूत्रबादी हुन्, संविधान विरोधी हुन्, अपराधिक प्रवृतिका झुण्ड हुन् ।’
युवाले ठुलो-ठुलो स्वरमा भन्यो । गोर्खेले ट्वा परेर हेरिरह्यो ।
अघिल्लो कार्यक्रममा पनि सहभागी भएको गोर्खेले यसै गरी पल्लो गाउँको घनेले त्यस दिन भनेको सम्झिहाल्यो ।
यस पटकका सेवा सुविधाहरु ? गोर्खेले सेवा सहुलियत बुझ्ने कोसिश गर्यो ।
होटलमा बास, मासु भात, पाँच सय भत्ता, खाजा नास्ता, सबै छ चिन्ता नलिनु न ! म छु त । भोलि मैले कुनै पद पाए भने सबैभन्दा पहिला तपाईलाई त हेर्ने हो नि ! युवाले गोर्खेलाई आस्वस्त पर्यो ।
यो त अस्ति पनि थियो पत्तै परेन भो नजाऊ की के हो ? गोर्खेलाई चित्त बुझेन ।
ठीक छ म जिल्लामा कुरा गरेर बढ़ाउँछु, तिमीहरु समयमै कार्यक्रमका लागि निस्कनु नि ? युवाले गोर्खेलाई अह्रायो ।
महिनामा आठ दश पटक यस्ता कार्यक्रम भए त राम्रै आम्दानी हुन्थ्यो की ! मनमनै सोच्न भ्यायो गोर्खेले । आन्दोलन किन, केका लागि, कुन पार्टी, कुन नेता, के विचार केही मेसो नपाए पनि भत्ता, खाजा नास्ताको लोभले घरपरिवार नाता गोता जम्मा पारी गोर्खे रामलीला मैदानमा हुने आन्दोलनमा जान तयार भयो ।
https://kanchulikhabar.com/news/45270
हरीचन्द्र ढकाल
हालस् काठमाण्डु
२४ माघ २०७७, शनिबार १३:०८ प्रकाशित